
Rajan Kuikel कम्युनिष्ट शासनको उपहारः अराजकता र हाहाकार
नेपालमा अहिले आफुलाई देशकै गज्जुवा ठान्ने दुई ठूला कम्युनिष्ट पार्टीको शासन चलिरहेको छ । र अहिले मात्र होइन, केही वर्ष यता नै उनीहरुले मुलुकको शासनको बागडोर सम्हालिरहेका छन् । अझ प्रष्ट भनौं आफुलाई कम्युनिष्ट बताउनेहरुको शासन देशमा लादिएको छ । दशक लामो सशस्त्र हिंसामार्फत् हजारौ नागरिकको रगतबाट मुलुकको सबैभन्दा ठूलो दल बनेको माओवादी संविधानसभाको चुनाव यता सरकारको नेतृत्व गर्नेदेखि सत्ता साझेदार दल बनेको छ । राजनीतिमा जोक्कर जस्तो बन्न पुगेको र आफुलाई कम्युनिष्टनै दावी गर्ने एमाले, कांग्रेस र माओवादीको विचौलिया बनेर सत्तापभोग गरिरहेको छ । अहिलेको उसको भूमिका २०४६ पछिको पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातानत्र पार्टी भन्दा फरक देखिएको छैन । उससँग सत्तामा पुगेर शक्तिको दुरुपयोग गर्नु, आफ्ना आसेपासे केही कार्यकर्ता र आफन्तलाई मुलुकको स्रोतको दोहनमा लिप्त गराउनुबाहेक कुनै राजनीतिक लक्ष्य देखिँदैन ।
कुनैबेला पुष्पलाल, मनमोहन र मदन भण्डारी जस्ता जुझारु र प्रतिवद्ध नेताहरुले बनाएको पार्टी अहिलेकै एमाले होला भनेर नयाँ पुस्ताले विश्वास गर्ने आधार गुम्दै गएका छन् । अहिले त फगत यो दोबाटामा बसेर जग्गा, मानव वा वस्तुको दलाली गर्ने व्यक्तिको हैसियतमा देखा परेको छ । दलालीमा लिप्तहरुबीच आफ्नो दलालीका लागि लडाई भएझै एमाले नेताहरुमा सरकारको कुर्सीमा पुग्न आफुआफैमा घिनलाग्दो र लाजमर्दो होड चलेको छ । कुर्सीमा पुग्नका लागि सामान्य मर्यादा र सीमासमेत नाघ्न थालेको छ । नागरिकका स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो जीवन आहुती दिनेदेखि जीवनभर कालकोठरीमा बिताउन राजी हुने मनमोहनदेखि मोहनचन्द्र अधिकारीहरुको निष्ठा वर्तमान एमालेमा हराउँदै गएको छ ।
अब त यो गुण्डा, तस्कर र नागरिक स्वतन्त्रताका लागि आवाज उठाउनेहरुको घाँठी निमोठ्नेहरुको दल बनेको छ । नागरिकका आवाज बुलन्द गर्नेहरु एमालेका दुष्मन भएका छन् । माओवादी ज्यादती र आततायीविरुद्ध आवाज दिने केपी ओलीहरु गुण्डा र तस्करका नाइके सावित हुुँदैछन् भने उक्त पार्टीका अध्यक्ष एवं मुलुककै प्रधानमन्त्री झलनाथ खनाल गुण्डाराजका संरक्षक । यो देशका प्रधानमन्त्री खनाल पत्रकार मार्न उद्यत मानिएका अपराधीलाई कार्वाही गर्न मन्त्रिपरिषदबाट निर्णय गराउँछन् र दिनको १० पटक औला उठाएर अपराधीलाई कार्वाही भएरै छाड्ने पधेर्नी गफ छाँट्छन् ।
आफ्नै पार्टीको कार्यकर्ता भनिएको एउटा फुच्चे परशुराम बस्नेतलाई पक्रेर कानुनी कठघरामा जिम्मा लगाउनुको साटो क्याबिनेट बैठकमा पक्रनेबारे निर्णय गराउनुभन्दा बिडम्बना र हाँसो के हुन्छ ? फेरि आफैद्वारा पालित पोषित गुण्डालाई पत्रकार कुट्न पठाउने अनि उसलाई समातेर कार्वाही त कता हो कता उल्टै राज्यको ढुकुटीबाट खिलानाथ ढकालको उपचार खर्च व्यहोर्ने ? कुट्न लगाउने आफुले पालेका गुण्डा अनि क्षतिपूर्ति राज्यको ढुकुटीबाट ? यो कस्तो लूट हो राज्यको ढुकुटीमा । राज्यको ढुकुटी झलनाथ र महराको तिजौरी हो ? यिनलाई जे मनलाग्यो त्यसरी पैसा छर्ने ? झलनाथ खनाल भन्ने व्यक्ति यो देशका प्रधानमन्त्री हुन् कि कुनै सर्कसमा देखाइने खेलौना ? हाय ! यो देशमा कस्ता पात्रहरु पनि सरकारको नेतृत्वमा पुग्दा रहेछन् । मानौ कि कम्युनिष्टहरुले नेतृत्व र सञ्चालन गरेको देशको यो समय अपराधी, तस्करी, गुण्डा, दलालीहरुकालागि भूस्वर्ग बन्दै छ । अर्कातिर माओवादी जो हजारौं नागरिकलाई हलाल गरेर वर्तमान हैसियतमा पुगेको छ । उसमा न त राज्यप्रतिको दायित्वबोध छ न त जनताप्रतिको इमान्दारिता नै । पटक पटक सरकारमा पुग्दा पनि उसले आफुलाई आपराधिक मानसिकताबाट माथि उचाल्न सकेको छैन ।
उसका सुप्रिमो प्रचण्डदेखि कार्यकर्तासम्मका युद्धको धङधङी मात्र होइन रगतसँगको रोमाञ्चकता अझै ज्यूँका त्यूँ रहेको पाइन्छ । न्याय, कानुन र जनताको आस्था भनेको अदालत हो । अदालतले अपराधी घोषित गरेको आफ्नो सांसदलाई समेत ऊ संरक्षण गरेर पाल्छ । व्यक्ति हत्याका दोषी बालकृष्ण ढुंगेललाई ऊ लुकाएर राख्छ भने रामहरि श्रेष्ठका हत्या आरोपीलाई केन्द्रीय समितिका बढुवा गर्छ । अनि पत्रकारका हत्याराहरुलाई राज्यका विभिन्न निकायमा नियुक्ति गराउँछ । एउटा सर्वसाधारण नागरिक अर्जुन लामाको हत्या अभियोग लागेका अग्नी सापकोटालाई मन्त्रीमा बढुवा गर्छ भने सांसद खरिद बिक्रीका लागि ५० करोड चिनियाँ सहयोग लिने कृष्णबहादुर महरालाई यो देशको गृह प्रशासनको साँचो सुम्पन्छ । युद्धमा मारिएकाहरुको कुनै हिसाव किताव नहुने तर्क गर्दै मानवअधिकारको कुरा उठाउने र दण्डहीनताविरुद्ध बोल्नेहरुलाई ऊ सीधा सीधा धम्काउँछ । मानौं कि मान्छे मार्ने, कुट्ने, पीट्ने र लुट्ने यि दुई कम्युनिष्ट दलका जन्मसिद्ध अधिकार हुन् ।
हामीले मान्छे कुट्न पनि नपाउने भन्दै आफ्नै दलका नेता डा. बाबुराम भट्टराईलाई कोटेश्वरस्थित पार्टी कार्यालयमै पुगेर एक जना कार्यकर्ताले सिध्याइदिने धम्की पनि पुरानो भएको छैन । त्यसैले कम्युनिष्टहरुले राज गरेको आजको नेपाल एउटा अपराध र अराजक राज्यका रुपमा लम्कँदै छ । राज्यका ढुकुटीमा खुलेआम लूट मच्चाईंदै छ । ठेक्काको नाममा वाइसीएल र युथफोर्सको दादागिरी चरम भएको छ । नेपालको कुनैपनि विकास निर्माणमा पुगेको पैसा यिनै दलका नेताद्वारा पालित पोषित गुण्डाहरुको लूट मच्चाउने राम्रो थलो बनेको छ । त्यसैले कम्युनिष्ट नामधारीहरुले सञ्चालन गरेको देश भनेको गुण्डा, अपराधी र अराजकहरुको स्वर्ग हो कि भन्ने भान परिसकेको छ । गृहमन्त्रालय सम्हाली रहेको माओवादी जानीबुझी परशुरामलाई समातिरहेको छैन । यसका कारण छन् ।
एक, माओवादी यो व्यवस्थालाई सुन्दर बनाउन आएकै होइन । जनगणतन्त्रको उडानका क्रममा उनीहरु यतिबेला लोकतान्त्रिक गणतन्त्रको ट्रान्जिटका लागि अड्किएका मात्र हुन् । ऊ यो मौकामा आफ्नो प्लेनमा तेल हाल्नेदेखि आफ्नो भोक मार्ने काम मात्र गर्दैछ । ट्रान्जिटमा रहेको यात्रुलाई के मतलव छ त्यो देशको शासन व्यवस्थासँग । त्यसैले माओवादी जतिसक्दो कानुन व्यवस्था अन्यौलमा पार्दै देशमा अराजकस्थिति निम्त्याएर कुनै बहानामा आफ्नो एकलौटी शासन कायम गराउन चाहन्छ । माओवादीले प्रधानमन्त्री पद छाडेर पनि घुँडा धसेर किन गृह मन्त्रालयनै ताकेको थियो होला भन्ने त सामान्य व्यक्तिले पनि बुझेकै हुनुपर्ने हो । गृह नै त्यस्तो मन्त्रालय हो जसले अपराधमा संलग्न भएकाहरुलाई कार्वाहीको प्रक्रिया थाल्दछ । तर जो आफै अराजकता निम्त्याउन लाग्दछ उसैले कसैगरी यस्तो काम गर्ला ? फेरि माओवादीलाई प्रष्ट के थाहा छ भने यो देशमा कम्युनिष्ट नामधारी दुई दल रहँदासम्म आफ्नो महत्व कुनैपनि बेला सकिने छ । त्यसकालागि आफुमाथि लट्किएको तरवार हटाउन उसले सबैभन्दा पहिले त एमाले नामको बेबकुफ दललाई जरैदेखि सकाउनुपर्ने हुन्छ तबमात्र उसको कम्युनिष्ट एकदलीयता कायम हुनेछ । यसका लागि एमालेलाई सकाउनकालागि आवश्यक पर्ने सबै काम गरिने छ । त्यसको सुरुवात हो एमालेभित्र झलनाथ र वामदेवजस्ता सन्ठहरुलाई काँखी च्याप्नु । जो सरकारको नेतृत्व गरिरहन्छ तर आफ्नै क्याबिनेटका गृहमन्त्रीले चालेको कूटिल चाल बुझ्दैन । आज वाइसीएलले गरेका तमाम हर्कतहरु फिका सावित भएका छन् युथफोर्स बस्नेत दाजुभाईका अघिल्तिर । माओवादी एमालेलाई राजनीतिको खेलाडी नै मान्दैन ।
त्यसैले त एमालेलाई धुजा धुजा बनाउने अभियानमा केन्द्रित छ ऊ । आफुभित्र प्रायोजित विवाद निम्त्याएर अरुलाई बेवकूफ बनाउन लागेको छ माओवादी यतिवेला । नेपालमा यतिवेला इमान्दारिता र नैतिक मूल्यको खडेरी पर्न थालेको छ । इमान्दार क्षमतावान व्यक्तिहरु पलायन भैरहेको छन् । बल भएका पाखुरीहरु र बुद्धि भएका दिमागहरु कोही खाडीमा पसिना र रगत बगाइरहेका छन् भने कोही कोरिया र सात समुन्द्र पारका मुलुकमा श्रम बेचिरहेका छन् । आज हजारौं होइन लार्खौको संख्यामा नेपालीहरु पलायन भएका छन् सरकारलाई यसको कुनै चासो र चिन्ता छैन उल्टै ऊ तिनै नागरिकलाई दलाली गर्दै बेचिरहेको छ । जो नेपालमै बसेर केही गर्न खोज्छन् तिनलाई पनि या त उसलाई धम्क्याएर पेशाबाटै पलायन गराउँदै छ या त कुटेर, अपहरण गरेर र हत्या गरेर अस्तित्व मेटाउन खोज्दैछ । त्यसैले कम्युनिष्ट नामधारीहरुले नेतृत्व गरेको यो देश आज बुद्ध र सगरमाथाको नामले होइन अराजक र अपराधीहरुको वासस्थानको रुपमा चित्रित हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्