
भगवानको जुगको कुरो हो । शिवजीको पनि आफ्नै संसार थियो । शिव, पार्वती अनि दुई छोराहरु गणेश र कुमार । दुई छोराहरु आँखाका नानी । निकै मस्ती पनि गर्ने । तर सधै त्यस्तो कहाँ हुन्थ्यो र । एक पटक दुई छोरामध्ये को ठूलो भन्नेमा ठूलै रडाको मच्चियो । बाबुआमाले अग्नी परीक्षा लिनका लागि दुवै भाइलाई तयार पारे । सर्त थियो, यो सुमेरु पर्वत जसले पहिले फन्को लगाएर आउँछ उही पहिलो । कुमार थिए तगडा । गणेश भुँडे । मुसोमा चढेर भुँडे जीउ घिसार्दै पर्वतको फन्को लगाउनु चानचुने कुरा थिएन । गणेश सोच्न थाले, कुमार लागे मयुरमा चढेर लक्षभेदन गर्न ।
यहाँनिर फसाद प¥योे गणेशलाई । के गर्ने । कुमारलाई जित्न सक्ने कुनै हिम्मत गणेशमा रहेन । उनलाई पनि ठूलै बन्नु थियो । साम, दाम, दण्ड, भेद चारै उपायका साथै हात र हतियारले पनि काम नगर्ने देखेपछि गणेश लागे सातौं उपायतर्फ । त्यो थियो चाप्लुसी । हो त्यही चाप्लुसीको मार्ग अपनाउँदै गणेश बाआमाका शरणमा गए । भट्टाउँदै गए – बाआमा भनेका त संसार हुन् । सृष्टि भनेकै त उनीहरु हुन् । त्यसैले वित्थामा दुनिया घुम्नुभन्दा बाआमालाई घुम्नु उत्तम हो । तपार्इंहरु नै सुमेरु पर्वत । तपाईंहरु नै ब्रम्हाण्ड ।
गणेशले मोटो दाउपेच के लगाएथे शिवजी लठ्ठ । असली छोरो त यही रहेछ भन्ने परिहाल्यो शिवलाई । चाकडी र चाप्लुसी कसलाई मन पर्दैन र ! बाबुको आज्ञा शिरोधार्य गर्दै सुमेरु फन्को मारेर फर्किएका कुमारको औचित्य त्यतिबेलै सकियो जतिबेला शिवजी गणेशको चाप्लुसीमा अल्झिए । अर्थात गणेश भए महान । उनकै पूजा पहिले आज पनि ।
जुगको कुरो अहिले विश्वको जुनसुकै भागमा फैलिएको छ । ठूलाबडाको चाहना र तृप्ति यसबाटै पूर्ति भइरहेका छन् । कुनै घर होस् या कार्यालय चाकडी र चाप्लुसीले नै चलेका छन् । यही नै सर्वोपरि नहोला तर जो काममा दत्तचित्त भएर लाग्न सक्दैन उसलाई भने चाप्लुसी अचुक औषधि भएको छ ।
छिमेकी कर्णमानले निजी कार्यालयबाट हिजो मात्र जागिरबाट हात धुनुप¥यो । हाकिमलाई तेल घस्न नपुगेर । रुपकलीले पनि धन्नै सधैका लागि विदा लिनुपरेको । चाप्लुसी नगरेकै भरमा गास काटिने भएपछि रुपकलीले वाध्य भएर कुरुपमाथि रुप थुपर्नु परेको छ अहिले ।
मेरो एउटा साथी भन्दै थियो— तपाईं पनि काम गर्नुहुन्छ नि ! कति मेहनत गर्ने । छोडिदिनुस् मेहनत गर्न । दुःख गरेर एक छाक पेट पाल्नुको के अर्थ रह्यो र ! लौ बरु लाग्नुस् चाकडी र चाप्लुसी गर्न । आफू भलो त जगत् भलो । गणेशमार्ग जिन्दाबाद ।
मैले यति मात्र भन्नु उचित ठानेँ— विचार आ–आफ्नो ।
प्रतिक्रिया दिनुहोस्