२१ चैत्र २०८१, बिहिबार | Thu Apr 3 2025


नानो र नानू


0
Shares

ल भन के छ आजको हट न्युज ? राम्रोसँग हेल्मेट राख्न पनि नभ्याउँदै फेरि उनले पनि उही न्युजको चासो लिइन् । साताभरि न्युजको भागदौडले हैरान भएर शान्तसँग विकेण्ड मनाउन पुगेको बेला फेरि उही न्युजको नाम सुन्नुपर्दा एकछिन त म हैरानै भएँ । घर गयो घर पिडालु, बन गयो बनै पिडालु, ससुराली गएको त झन बाह्र हातको पिडालु भनेजस्तै भयो मलाई । भनेँ— केही छैन । ल पत्रकार महोदयलाई थाहै रहेनछ । म भन्दिउँ ? नयाँ खवर सुनाउन उनी पो तम्सिइन् । ओके डियर, सुनौं न त के रै’छ त्यस्तो ब्रेकिङ खवर— सहमति दिएँ मैले । हतारिएर भनिन्— नानो नेपाल छिर्यो नि !
नेपाली बजारमा नानोको प्रवेश मेरा लागि पनि न्युज थियो । एक थान न्युज, अरु थुप्रै न्युजजस्तै । तर, नानूको ढाँचाकाँचा हेर्दा त्यो उनका लागि त्यति मात्र थिएन । भर्खरको झरीले भिजेको केस झड्कार्दै थपिन्— तीनै खाले मोडेल एकसाथ बजार पठाएछ नि हगी ! झरीको चमत्कार हो कि नानोको, खवर सुनाउँदा उनको पुरै आभा मण्डलमा अनौठो चमक देखियो । हेल्मेटतिर छड्के नजर लगाउँदै थपिन्— हुन त काठमाडौंको ट्राफिकमा मोटरसाइकल पनि बेशै हो, तर यस्तो बेला चाहिँ कारै ठीक !

आँ गर्दा अलंकार बुझ्नु भन्छन् । मलाई नानूको नानो प्रेम बुझ्न गाह्रो परेन । र, त्यो संवाद बढ्दै जाँदा कहाँ पुग्नेवाला छ, पूर्वाभास नहुने कुरा पनि भएन । नजाने गाउँको बाटै नसोध्नु भन्छन् । लाग्यो कुरा अघि बढाउनुभन्दा उम्किनु नै बेश । भनेँ— यो चिसो चिसो मौसम अनि योे हरियाली ! नगरकोट त साँच्चिकै रमणीय छ हगी ! !
भर्खरैको झरीले वास्तवमै नगरकोटको सौन्दर्य अरु निखारिएको छ । पाखाभरि हरियो नै हरियो, जति हे¥यो हेरिरहुँ लाग्ने । छर्लङ्ग देखिने राजधानी शहरको दृश्य । थोरै उचाइ । नागबेली  पाखा । आकर्षक ल्याण्डस्केप । न गाडीको गाँइगुईं न धुवा धुलोको प्रकोप । होटल वरिपरि नानाथरिका सुगन्धित फूल । अनि साथमा निथ्रुक्क भिजेर ओभाउँदै गरेकी नानू ! मनको बेग वायुपंखी घोडा चढेर कहाँ पुग्छ, कहाँ !!
यस्तो बेलामा मान्छे अलिक नोस्टाल्जिक हुने रहेछ । बितेका दिन र हरेक क्षणहरु सम्झन मन लाग्ने । सम्झेर झन आनन्द आउने । के भनिएन ऊ बेला । आकाशको तारा खसाएर हातमा राखिदिने बचन त कति हो कति । त्यसो त उनी पनि के कम थिइन र ! हरेक पटक भन्थिन्— मलाई आकाशको जून तारा चाहिन्न, तिमी भए पुग्छ, केबल तिमी । ऊ बेलाको कुरै बेग्लै । जे भने नि राम्रो लाग्ने । जति सुन्यो सुनुसुनु हुने । म फेरि हराएछु कल्पनाको संसारमा । उनले झस्काउदै भनिन्— हैन, नानो चढेर घुम्न हिड्या हो कि क्या हो !!

उनले ख्यालख्यालमै जोडेको नानोले मलाई नराम्ररी झड्का दिन्छ । मुटुमै घोचेजस्तो हुन्छ । के भन्ने के म तिर्मिराउँछु । टाटा कम्पनीलाई नै गाली दिन मन लाग्छ । टाटा मात्र किन पुरै भारतीय प्रभुत्ववादमाथि नै माओवादी भन्दा चर्कोसँग प्रहार गर्ने कि जस्तो पनि लाग्छ । नामै नानो ! कस्तो जानेको मर्ममै प्रहार गर्न । उसमाथि मूल्य पनि सबैभन्दा सस्तो रे ! यति पनि किन्न सकिन्न भन्यो भने हैसियतमाथि नै प्रश्न उठ्ने खतरा । लौ न त किनौं भन्यो भने कुरा उही । पत्रकारको जागीर, काम बडा दाम छोटा ।

मेच अलिकति अघि सार्दै जीऊ ढल्काएर कुनै प्रोफसनल सेल्सगर्लजस्तै नानू अघि सर्छिन् नानो महात्म्य कहन । भन्छिन्— मैले त कुरा उक्काइदिएको मात्र हो, खासमा यो मलाई हैन तिमीलाई बढी आवश्यक छ । हेर त काठमाडौंको धुवाँ, धुलो र सडकको हविगत । यता प्रदुषण, उता दुर्घटनाको खतरा । कहिले उखरमाउलो गर्मी, कहिले मुटु काम्ने जाडो । झरी त यी आजै देखिइहालियो । पत्रकार भन्या छ, दिनमा दस ठाँउ पुग्या छ । कति दिन चल्छ यसरी । सम्पादक मान्छे, यसो प्रेस्टिजको पनि कुरा हुन्छ क्या ! सानो छ । सस्तो छ । माइलेज पनि बढी छ । आँटौं । आ जे पर्ला, सोही टर्ला ।

कुरा त ठीकै हो । नाइ भन्ने ठाँउ छैन ।
तर, ल भन्न पनि खल्तीले समर्थन गर्दैन ।
लौ न के गर्ने होला ? द्विविधामा कुनै सुविधा छ कि !!!