१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


मिर्गाैला साटासाट गर्नेको स्वास्थ्य राम्रो


0
Shares

काठमाडौं, साउन १४ । आपसी सहमतिबाट मिर्गाैला साटासाट गरी प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्यस्थिति हाल राम्रो भएको नेपाल मानवअंग प्रत्यारोपण केन्द्रले जनाएको छ ।

नेपालमा नै पहिलोपटक भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा यही साउन १२ गते दुई परिवारबीचको आपसी सहमतिबाट मिर्गाैला साटासाट गरी प्रत्यारोपण गरिएको थियो ।

ताप्लेजुङ जिल्ला फूलबारीका ४९ वर्षीय खेमराज निरौलाले गोर्खा जिल्ला मनकामनाका ५२ वर्षीया माया थापाबाट र गोर्खा मनकामनाकै ४० वर्षीय विष्णुबाबु श्रेष्ठले ताप्लेजुङ जिल्ला फूलबारीका ४५ वर्षीय मात्रिकादेवी चापागाइँसित मिर्गौला प्राप्त गरेका थिए ।

प्रत्यारोपणका लागि एकै परिवारका सदस्यमध्ये अंगदाता र ग्रहणकर्ताबीच मेल (म्याच) नभएमा दुई परिवारकाबीचमा आपसी सहमतिद्वारा अंग साटासाट गर्न सकिने प्रावधान रहिआएको छ ।

मिर्गौला रोगी खेमराज निरौलाको रक्त समूह ‘ए’ र उनकी श्रीमती मात्रिकादेवी चापागाइँको रक्त समूह ‘बी’ रहेको थियो भने माया थापाको रगत समूह ‘ए’ र उनका भाइ मिर्गाैला रोगी विष्णुबाबु श्रेष्ठको रगत समूह ‘बी’ रहेको थियो ।

केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा. पुकार श्रेष्ठले प्रत्यारोपित ती दुबै बिरामीको हाल स्वास्थ्यस्थिति राम्रो भएको जानकारी दिए । उनकै नेतृत्वमा ती प्रत्यारोपण एकैसाथ सम्पन्न भएका थिए ।

कार्यकारी निर्देशक डा. श्रेष्ठसहित सो प्रत्यारोपण समूहमा वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठ, सिनियर कन्सल्टेन्ट सर्जन प्रा. डा. राकेश वर्मा, मुटुका शल्यचिकित्सक डा. मोहनदेव भण्डारी र डा. सम्पूर्ण तुलाधर, डा. प्रेम वैद्य तथा ऐनेस्थेसिया विभागका डा. महालक्ष्मी देउजा र डा. किरण अधिकारी, सर्जन डा. वीरेन्द्र यादव, डा. प्रविण जोशी, डा. नारायण भुसाल, नेफ्रोलोजिस्ट डा. लुसनसिंह, डा. सन्तोष गुरुङ र डा. सागर श्रेष्ठ सहभागी थिए ।

हाल केन्द्रमा वार्षिकरुपमा एक सय जनाभन्दा बढीको मिर्गाैला प्रत्यारोपण हुने गर्दछ । रासस