
नयाँ दिल्ली, साउन १४ । भारतको गुप्तचर निकायले १५ अगस्टका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ज्यान सर्वाधिक खतरामा रहने भन्दै सतर्क रहन आग्रह गरेका छन् ।
गुप्तचर अधिकारीहरुले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसमक्ष त्यस्तो खतराको जानकारी गराएका हुन् ।
उल्लेखनीय छ, १५ अगस्टका दिन भारतले स्वतन्त्रता दिवस मनाउने गर्दछ । सो दिन आयोजना हुने विशेष कार्यक्रममा भारतीय प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ ।
नयाँ दिल्लीको लालकिलामा आयोजना हुने समारोहमा मोदीलाई बुलेटप्रुफ मञ्चबाट मात्र भाषण गर्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।
गुप्तचर निकायको प्रतिवेदनमा भनिएको छ, ‘१५ अगस्टका दिन आतंकवादीहरु जुनसूकै हद पार गर्न सक्छन् ।’
गत वर्ष पनि मोदीलाई बुलेटप्रुफ मञ्चबाट भाषण गर्न सुझाव दिइएको थियो । तर उनले अन्तिम क्षणमा बुलेटप्रुफ मञ्चबाट भाषण नगर्ने निधो गरेका थिए ।
एक वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार कश्मीरमा बढ्दो तनाव, सीमामा भइरहेको घुसपैठ र आइएसको बढ्दो गतिविधिका कारण खतरा बढेको हो । स्थल सुरक्षा घेरालाई आतंकवादीहरुले ड्रोनमार्फत तोड्ने प्रयास गर्नेतर्फ पनि सचेत गराइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्