
काठमाडौं, साउन १३ । नेपाल टेलिकमले ठूला नदी र हिमाली क्षेत्रका ग्राहकहरुलाई विपद्सम्बन्धी पूर्वसूचना पठाउने भएको छ ।
नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद्सम्बन्धी पूर्वसूचना मोबाइलको एसएमएसमार्फत् प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको हो ।
विहीबार सम्पन्न यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र विभागका तर्फबाट महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरे ।
सम्झौताअनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोसी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद्सम्बन्धी पूर्वसूचना सम्प्रेषणको व्यवस्था मिलाइने टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्