
काठमाडौं, साउन १२ । प्रथम सूर्यकुमार क्षेत्री स्मृति मिडियाकप फुटसल प्रतियोगिताको उपाधि इमेज च्यानलले जितेको छ ।
ललितपुरको भैसेपाटीस्थित गोलपोस्ट स्पोर्ट्स एन्ड ट्रेनिङ सेन्टरको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बुधबार नेपाल टेलिभिजनलाई ६–४ ले हराउँदै इमेजले उपाधि उचालेको हो ।
खेलमा इमेज च्यानललाई विजयी गराउन प्रकाश महर्जन र सुनील ताम्राकारले ३–३ गोल गरेका थिए ।
प्रतियोगिताका सर्वाधिक गोलकर्ता इमेजका ताम्राकारले कुल ५ खेलमा १९ गोल गरे ।
स्व. पत्रकार सूर्यकुमार क्षेत्रीको स्मृतिमा उनको परिवारको सहयोगार्थ आयोजित प्रतियोगितामा उपत्यकाका १३ ओटा सन्चारगृहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा नेपाल वान टेलिभिजन र फोटो जर्नालिस्ट क्लब संयुक्तरुपले तेस्रो हुँदा ‘फेयर प्ले’को उपाधि सेतोपाटीले जितेको छ ।
यसअघि, बुधबारै भएको सेमिफाइनल खेलमा पिजे क्लबलाई ‘टाइब्रेकर’मा पराजित गर्दै इमेज च्यानल फाइनलमा पुगेको थियो ।
नेपाल वान टेलिभिजनलाई २–१ ले हराउँदै नेपाल टेलिभिजनले इमेजसँग उपाधि भिडन्त तय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्