
फाइल फोटो
बैतडी, साउन १२ । दार्चुलामा एक यार्सा व्यापारीको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरकाअनुसार दार्चुला सिप्टी–३ होपरीका जमनसिंह महता रहेका छन् ।
प्रहरीले महताको शव दार्चुलाको घुषा गाविस–८ धनबोहरा भन्ने स्थानबाट ५०० मिटर तल चमेलिया नदी किनारमा फेलापरेको हो ।
यसअघि, मंगलबार प्रहरीले दार्चुलाको घुषा गाविस–८ धन बोहरा भन्ने स्थानमा पेस्तोल, पाँच राउन्ड गोली, रगतले लत्पतिएको अवस्थामा चक्कु, एक तोला यार्सा, सतुवा एक किलोग्राम रु ९ लाख ९९ हजारलगायतका सामग्री फेलापारेको थियो ।
मंगलबार खन्डेश्वरीका स्थानीय कमल रोकायाले दिएको जानकारीका आधारमा प्रहरीले उक्त स्थानबाट सामग्री बरामद भएको बताएको छ ।
यस्तै, मंगलबार घटनास्थलबाटै हत्या गरिएका सिप्टी–३ होपरीका जमनसिंह महताको नाममा जारी भएको यार्सा संकलन परिचयपत्रसमेत फेलापरेको थियो ।
परिचयपत्र फेलापरेपछि तथा चक्कुमा रगत लत्पतिएको अवस्थामा प्रहरीले महताको हत्या भएको हुनसक्छ भनेर खोजीकार्य गरेको थियो ।
प्रहरीले महताको खोजबिन गर्दा मंगलबार बरामद गरिएको सामग्रीबाट ५०० मिटर तल चमेलिया नदी किनारमा बुधबार हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।
प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौर नेतृत्वको एक टोली अहिले घटनास्थलतर्फ गएको छ ।
घटनास्थल पुगेपश्चातमात्रै घटनाको थप विवरण आउने प्रहरी नायब उपरीक्षक राठौरले राससलाई जानकारी दिए । घटनास्थल सदरमुकामबाट दुई दिनको पैदलदूरीमा पर्दछ । रासस
प्रतिक्रिया दिनुहोस्