
आगरा, साउन १२ । भारतको आगरामा रहेको पुरातात्विक महत्वको धरोहर ‘ताजमहल’ हेर्नका लागि वर्षेनि विश्वका विभिन्न मुलुकबाट हजारौं पर्यटक आउने गर्दछन् । तर पर्यटकको सुरक्षाका दृष्टिले ताजमहल ‘जोखिमपूर्ण’ बन्न थालेको संकेत देखिएको छ ।
हालै ताजमहल हेर्न गएका एक आन्तरिक पर्यटक गम्भीर घाइते भएका छन् । ताजमहल परिसरमा रहेको एउटा स्तम्भ नजिकै उभिएर तस्वीर खिचिरहेका भारतीय पर्यटक ढुंगाले लागेर गम्भीर घाइते भएका छन् ।
माथिबाट अचानक खसेको ढुंगा लागेर तमिलनाडुका निसार अहमद गत सोमबार घाइते भएका हुन् । अधिकारीहरुका अनुसार १३३ फिट माथिबाट खसेको ढुंगा उनको टाउकोमा लागेको थियो ।
नवजात छोरालाई बोकेर फोटो खिच्न व्यस्त रहेकै समयमा उनको टाउकोमा ढुंगा खसेको हो । बच्चालाई भने चोट नलागेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्