२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


भान्छाको फोहोरबाटै ग्यास निकालेर खाना पकाउने प्रविधि पोखरामा


0
Shares

काठमाडौं, साउन ११ । भान्छाको फोहोरबाट खाना पकाउने ग्यास निकाल्ने प्रविधि पोखरामा भित्रिएको छ ।

अल्टरनेटिभ बायो इनर्जी कम्पनीले सहरी उपभोक्तालाई लक्षित गर्दै परम्परागत गोबर ग्यासभन्दा सजिलो र भरपर्दो दाबी गरिएको यो प्रविधि भित्र्याएको हो ।

दक्षिण भारतका धेरै सहरमा सफल प्रयोग भइसकेको यस्तो प्रविधि पोखरा, काठमाडौं र नारायणगढमा परीक्षण भइसकेको कम्पनीका कर्मचारी शेषन शाक्यले जानकारी दिए ।

पोखरा उपमहानगरपालिका कार्यालयको क्यान्टिनमा जडान गरिएको प्लान्टको सोमबार निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले उदघाटन गरे ।

क्यान्टिन संचालक श्याम अधिकारीले बायो प्रविधि जोडेदेखि दैनिक दुई घण्टा त्यसबाटै पकाउन सकेको अनुभव सुनाए ।

‘६ जनाको एउटा परिवारको भान्छाबाट निस्कने फोहरबाट दैनिक २ घण्टा ग्यास बाल्न सकिने देखिएको छ,’ शाक्यले भने, ‘यो प्रविधि भयो भने घरबाट निस्किने फोहोर ७५ प्रतिशतसम्म कम हुन्छ ।’

१ घनमिटरको ड्रमसहित प्रविधि जडान गर्दा ७० हजार रुपैयाँ खर्च लाग्छ । प्रविधिमा २५ वर्षको वारेन्टी पनि छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट