
नयाँ दिल्ली, साउन १० । भारतको राजधानी नयाँ दिल्लीमा विद्युत संकट कम गर्नका लागि सरकारले नयाँ उपाय अपनाउन थालेको छ ।
सरकारले आवास क्षेत्रका कम्पाउण्डमा विशेष प्रकारका कृत्रिम रुख लगाएर विद्युत उत्पादन गर्न थालेको हो । यी रुखका हाँगामा पातको ठाउँमा सोलार प्लान्ट जडान गरिएको छ । फलामे डण्डी गाडेर रुखको शैलीमा हाँगा बनाइ सोलार प्यानल जडान गरी उर्जा उत्पादन थालिएको हो ।
भारतीय संचारमाध्यमका अनुसार विज्ञान र प्रौद्योगिकी मन्त्री हर्षवर्द्धनको सरकारी आवासमा यस प्रकारको रुख लगाएर अभियान सुरु गरिएको छ ।
यो प्रविधि काउन्सिल फर साइन्टिफिक एण्ड इन्डस्ट्रिल रिसर्चका वैज्ञानिकले तयार पारेको बताइएको छ । रुखको आकारमा बनाइएको एउटा प्लान्टमा जडित २० सोलार प्यानलले ५ घरलाई विद्युत आपूर्ति गर्न सक्नेछ । यो प्रविधि जडान गर्नका लागि एक वर्गमिटरभन्दा केही बढी क्षेत्रफल आवश्यक पर्दछ । यसको आयु २५ वर्ष रहने जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्