
डा.नारायण चालिसे –
यो प्रभावपरक लेख मात्र नहोस् भन्ने चाहि रहेको छु । पाठकको अतिशय भावुकता वा लेखकको छायाँ पर्यो भने कहिलेकाहीँ विषय नै ओझेलमा पर्ने डर हुन्छ । मैले केही लेखकहरूलाई लेखेपछि चिनें, केहीलाई चिनेपछि लेखें । धेरै लेखहरू मेरा पुस्तक पढिसकेपछि तुरुन्तै लेख्न सुरु गरेर पुरा भएका छन् । केहीका अठोटहरू पनि तुहेका छन्, केही आग्रह र अनुरोधमा पनि लेखिएका छन् । एउटा पुस्तकको धर्म त्यो पुस्तक पढिसक्दा पाठकलाई आपूmतर्फ तान्न सक्नु हो भन्ने लाग्दछ । केही किताबहरूले मलाई त्यसरी तानेका छन् । किताबको स्तर थाहा पाउन धेरै मूल्यवान् समय खर्चिएको हुन्छ । त्यसैले त्यो समयको मूल्य किताबले उठायो भने सन्तोष हुन्छ । मुटु छोएर किताब सकियो भने त्यही नै उपलव्धि हो ।
अठोट गरेर पनि नलेखेको केही किताब र लेखकहरू बाँकी छन् । तिनै मध्ये नयनराज पाण्डे पनि हुन् । उलार र लू पछि दुवै पटक अठोट गरें तर मेसो मिलेन । यसपटक भनें सहनै सकिन । सल्लीपिर पढेर सकें, आधा घण्टा मनमनै रन्थनिएँ । विस्मात्ले छट्पटिएँ । मनमनै लेखकलाई पेमा र फुर्वाको भेट नगराइ दिएकोमा असन्तुष्टि पोखें र प्रतिक्रिया लेख्न बसें । प्रिय लेखक यति मार्मिक किसिमले समस्यालाई उठाउन सकेकोमा बधाई छ !
यो कुनै सैद्धान्तिक समालोचनाको थालनी भने होइन । केवल प्रभावी लेखन नै हो । तापनि उपन्यासको परिकल्पना साँच्चै मानवीय समवेदनाकै वरिपरिबाट हिँड्न सकेकोमा भने सन्तोष लाग्यो । हामीले मानेकै कुरा हो लेखक निमित्त मात्रै हो । अरुकै घटना जस्ताको त्यस्तै वर्णन गरि दिनेसम्म अधिकार यथार्थवादी लेखकले राखेको हुन्छ । त्यसैले हामी निमित्तका साक्षी मात्र हौं । यो नियतिवादी दर्शन उपन्यासमा ज्यादै घनीभूत किसिमले प्रतिविम्बन भएको रहेछ । यसो भनेर म कोरा भाग्यवादी नियतिवादको समर्थन गरिरहेको छैन तर सत्य जताबाट नापे पनि उत्तर एकै किसिमले आउँछ । हामी कर्म गर्ने अधिकार राख्छौं फलको आस गर्ने अधिकार राख्दैनौं कर्मण्येवाधिकारस्ते माफलेसु कदाचन । गीताको यही सार्थक अभिव्यक्तिको चरितार्थमा छौं हामीहरू । समस्या सनातन छन् समाधान छैन त्यसैले हरेक लेखनीमा हामी समाधान खोजिरहेछौं अनि समस्या लेखिरहेछौं । यथार्थवाद र नियतिवाद एउटै बाटोमा हिँडेको यो कर्मवादी अभियान हो । कर्मवादमा हामी प्रारव्धलाई जोड्दै अघि बढ्ने हुनाले कर्मयोगी भएका छौं । कर्ममा पनि योग वृत्ति अर्थात् त्याग सहितको कर्म । कर्ममा पनि हामी चित्तवृत्तिलाई नियन्त्रण गरेर कर्मलाई बढी महŒवाकाङ्क्षी हुन नदिनु कर्मयोग हो । अर्काे अर्थमा योग कर्मसु कौशलम् कर्ममा कुशलता पनि योग वृत्ति नै हो । हाम्रो कर्मयोग कुशल कर्म पनि हो त्यसैले हाम्रो यथार्थ जीवन पनि कर्मयोगमा अडेको छ । परन्तु हाम्रा कर्महरूको परिणामका विषयमा हामी अधिकारी बन्न सक्दैनौं । त्यसैले हामी नियतिवादी वा प्रारव्ध कर्मवादी पनि हौं । तसर्थ हाम्रो यथार्थवाद नियतिवादको अधीनमा छ । यो कुराको पुष्टि गर्ने तर्फको अभियानमा सल्लीपिर पछिल्लो प्रयत्न हो ।
सल्लीपिर महाकथाको एउटा अंश मात्र हो । हामी कहिल्यै नसकिने महाआख्यानका पात्रहरू हौं र यो धरती त्यो महाआख्यानको पृष्ठाधार हो । यसले चराचर वस्तुको महाआख्यानलाई आफ्नो काँधमा बोकेर बसेको छ । जीवनका कथा कहिल्यै पनि नसकिने भएकाले हाम्रा सस्याना भूमिकाहरूमा जोडिएका धेरै लघुतम आख्यानहरू विश्वब्रह्माण्डको निम्ति ज्यादै न्यून कथाहरू भए पनि हाम्रो निम्ति ती न्यून मात्रै होइनन् ।
हाम्रो चेतनासँग जोडिएका सस्याना फिलिङ्गाहरू हामीलाई डढाउन वा उज्यालो दिन पर्याप्त छन् । त्यसैले हाम्रा कथा हाम्रा निम्ति प्रिय अप्रिय दुवै छन् । हाम्रो छालामा टाँसिएको हाम्रो भाग्य जति घोट्दा पनि मास्तिकहरू र जति खियाउँदा पनि पैतालाहरू हाम्रो अनुकूल निर्णय दिन सक्दैन । हामीलाई पुरानै परम्पराको सिसिफस यात्राको उपदेश दिइरहन्छ समयले उपहारमा । अनि हाम्रो चेतनाले सल्लीपिरको कथाको पुनरावृत्ति गर्न बाध्य भइरहन्छ भन्ने दृष्टान्त पनि हो यो उपन्यास । उलार र लू लेखि सकेपछि मानिसको दुःखका कथाहरू सकिए कि जस्तो लागेको थियो होला लेखकलाई । तर झन् पछि झन् गाढा भएर हिमाल÷सगरमाथासम्म नै टल्किन थालेपछि सम्भवतः सल्लीपिर जन्मियो ! तर यो कुनै ख्यातिप्राप्त महानायक वा नायिकाको कथा बन्न सकेन । बरु यो त सीमान्तीकृत वा किनारीकृत जातिको महादुःखको श्रृङ्खलावद्ध कथा बन्न पुग्यो । यहाँ एकपछि अर्को गर्दै आफ्नो इतिहास हिउँमा सेलाएर शान्त हुने महायानीहरूको कथा समेटिएकाले यो कथा केही अप्रिय छ, केही कारुणिक र केही निराश पार्ने खालको छ । हुन त महायानको मार्गमा हिँड्नेहरू सुख दुःखको तत्क्षणिक प्रभावबाट मुक्त हुन्छन् त्यसैले हिउँजस्तै शितल हुन्छन् भनौं कि चिसा हुन्छन् । उनीहरूको शीत कथाले आजसम्म सत्ता र शासकहरूलाई नछोएको हुनाले हिउँको चिसोमा हाम्रो गौरवमय इतिहास कठ्याङ्ग्रिएको पनि हामीलाई हेक्का हुन सकेको छैन । त्यसो त तराई र मधेसको अग्निमय तापमा भुक्लु भुक्लु उम्लिएका धनसरी र जेलुका पीडाका कथाहरू वा पहाडको चट्टानी भिरमा जलुका, भ्याकुर र जङ्गली च्याउमा जीवनका सुन्दर सपना बुन्दै रहने पूmलमाया र धनेका पीडामय कथातिर पनि सत्ताको नजर नपुगेको बेला हिउँमा चिसिएका पेमा र दावाका भरभराउँदा सपनामा सत्ताको आँखा नपुग्नु नौलो कुरा हुँदै होइन । सत्ताका र शक्तिका आँखा शहरहरूमा, महलहरूमा र कुर्सीहरूमा मात्र पुग्न अभ्यस्त हुन्छन् त्यसैले अरुतिर पुग्दैनन् ।
सत्ता र शक्तिका अनेक रूप हुन्छन् तर हामीले विश्वास गरेको भनेको आफ्नै आस्थाको सगरमाथा प्रति हो । सगरमाथा, बुद्ध, भृकुटी र सीताहरूमा हामीले ठड्याएका विश्वासका लिंगाहरूमा हामीले आस्थाका पूmल गुच्छा झुण्ड्याएका छौं । हामी हाम्रो परिचय र अवसरको मागमा छौं । हामीले चाहेको भनेको सत्ताले हामीलाई परिचय देओस्, अवसर देओस्, कर्म गर्ने हातहरूमा सिर्जनाको गैंची थमाइ देओस्, हाम्रा पाइलाहरूमा गति र गन्तव्य देओस् भन्ने उद्देश्यमा हामीले सत्ताको सौन्दर्य मागेका छौं । तर सत्ताको इतिहास त्यति सफा र उज्यालो छैन । सत्ताले त सज्जनहरूलाई डस्छ भन्ने सुनेका छौं । त्यसैले सबैतिर सत्ताका आँखा पुगेको पनि त्यति राम्रो होइन पनि भनिन्छ । सत्ताका आँखा अलि असजिलो ठाउँमा बढी पर्छन् । ती आँखाले पोलेका घाउहरू निको हुन गाह्रो पर्छ । त्यसैले मानिसहरू मात्रै बसेको संसारमा सत्ताका विसाइला आँखाहरू नपुगेकै राम्रो पनि हो ।
सल्लीपिर नेपालको खुम्बु क्षेत्रमा बस्ने शेर्पा जातिको जीवन कथामा आधारित भएर लेखिएको यथार्थवादी उपन्यास हो । यस उपन्यासमा हिमालका आदिवासी शेर्पाहरूको जीवनका धेरै तिता यथार्थहरूलाई समेट्ने प्रयत्न गरिएको छ । यो सबै तह र तप्काका सबै शेर्पाहरूको कथा भने होइन किनभने अवसर पाएका र समयलाई बुझेका शेर्पाहरूको कथा यो भन्दा केही सन्तोषजनक र कतिपयका जीवन धेरै राम्रो पनि रहेकाले यसलाई समग्र जातिको कथा भन्नु त्यति उपयुक्त नहुन सक्छ । विशेषतः जातले शेर्पा बन्न पाएका, तर कुनै पनि अवसर पाउन नसकेका, भौगोलिक विकटताका साथै सबै प्रकारका पछौटेपनले गर्दा माथि उठ्न नसकेका किनारीकृत अवस्थामा रहेका शेर्पाहरूको प्रतिनिधि पात्रलाई उभ्याएर तिनीहरूको यावत् अवस्थाको चिरफार गर्ने काम यस उपन्यासमा गरिएको छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक आदि पहिचानहरू त मानिसले पछि बनाइएका आधारहरू हुन् । मुख्य कुरा भनेको त मानिस हुनु हो । मानिस जन्मेपछि नै सबै प्रकारका उपाधिहरू जन्मिएका हुन् । त्यसैले पहिले मानिसको रूपमा जन्मिएको प्राणी मानिस हुन पायो पाएन वा सक्यो सकेन भन्ने पहिलो खोजीमै यो उपन्यास केन्द्रित भएको छ । केही आधारभूत सर्तहरू त मानिसले जन्मदैदेखि लागु हुने गरी आएका हुन्छन् । तर तिनको पालन र प्रयोग जीवनभरि नै हुन पाएको हुँदैन । तिनै पक्षमा यो उपन्यास केन्द्रित भएको छ । लाउने, खाने, बस्ने, इच्छा लाएको ठाउँमा जाने, आवश्यक कुरा बोल्ने, शिक्षा, स्वास्थ्य र सुरक्षा यी केही कुराहरू छन् जुन मानिसलाई नभई नहुने कुराहरू हुन् । सामान्य अवस्थामा मानिसले माथिका धेरै कुराहरू पाउनु पर्छ । विशेष अवस्थामा सरकार वा राज्यले व्यवस्था गरि दिनु पर्छ । तर विडम्बना के छ भने जुन कुराको निम्ति मानिसले कुनै प्रयत्न नै नगर्नु पर्ने हो त्यही कुरा पाउनको निम्ति जीवनभर सङ्घर्ष गर्नु परेको छ र त्यसैको निम्ति मर्नु परेको छ । यस्तो अवस्थामा जीवनका विषयमा साहित्य लेख्नेहरूले पनि तिनै विषयलाई आधार मान्नु परेको छ । यो उपन्यास पनि यिनै आधारभूत कुराहरूको प्राप्तिको सङ्घर्षमा जीवन अर्पण गरेका हिमाली पुत्र शेर्पाहरूको जीवन कथामा आधारित भएको छ ।
कुरा ज्यादै ठुलो केही पनि होइन । काम गरेर पेटभरि खान, चिसो तातोबाट सुरक्षा लिन लाउन र बस्नको निम्ति मात्र आवश्यक वातावरण निर्माण भए हुन्थ्यो । शिक्षा र ज्ञान लिनु भनेको अँध्यारो जगत्बाट उज्यालोतिर प्रस्थान गर्ने बाटो मात्र हो । रोगव्याधि लागे उचित उपचार पाउनु नागरिकको अधिकार हो । हामीले चाहेको हिँड्ने अनुमति मात्र हो । यति कुराहरू त यसै पनि पाउनु पर्नेमा जीवन नै यसैको निम्ति लगाउँदा पनि त्यही कुरा त्यो पनि नपाएरै मर्न पर्नु भनेको ज्यादै नै लज्जाजनक कुरा हो तर हाम्रो देशमा त्यही भएको छ । र यो उपन्यासले एउटा खास जातिको अवस्थालाई दृष्टान्त दिएर त्यही कुरा भन्न चाहेको छ । अनौठो त के कुरामा भएको छ भने यो उपन्यासले छनोट गरेका पात्र, परिवेश र घटनाहरू यति धेरै पुराना छन् जहाँ आजको समयको हावाको स्पर्शसम्म पनि ती जाति र व्यक्तिहरूमा भएको छैन । यस्तो डरलाग्दो परिस्थिति अहिले पनि देशका विभिन्न ठाउँमा विद्यमान छ । र त्यतातर्पm कुनै पनि आधिकारिक निकायको ध्यान पुग्न सकेको छैन वा ध्यान पुगेर पनि त्यसलाई कुनै महत्वको कुरा हो भन्ने नै ठानिएको छैन । उपन्यासमा दैनिक जीवन बिताउने सन्दर्भमा कसैले कसैलाई अन्याय गरेको, दुःख दिएको वा त्यस्तो प्रकारको कुनै अनर्थ गरेको छैन । अर्थात् कोही खास व्यक्ति, सम्प्रदाय, समाज वा त्यस्तो देखालो गरी कुनै शत्रु वा समस्याको कारण देखा परेको छ । केही नयाँ घटनाहरू जस्तै माओवादी समस्याले सुरक्षामा पारेको असर र निर्दोषलाई पनि अनावश्यक झमेला बेहोर्नु परेको जस्ता केही पछिल्लो समयमा कारण बनेको बाहेक उपन्यासको प्रारम्भदेखि अन्त्यसम्मका घटनामा बाहिरी शत्रु छैनन् । जे जति छ आफ्नो गरिबी, अशिक्षा र पछौटेपनमा आपूm र आफ्नो समाजमा शदियौंदेखि धार्मिक विश्वाससँग जरा गाडेर बसेको केही अन्धविश्वास र आफ्नै अपूर्णता नै कारण भएको देखिएको छ । त्यो समाजले पढ्नु पर्छ भन्ने कुरालाई घोर अनर्थ ठानेको र पढेकै कारण अनिष्ट भएको छ भन्ने सम्मको भ्रान्तिलाई पालन पोषण गरेको पाइनु र वर्षाैंसम्म पनि पढ्ने पढाउने चेतनाले ठाउँ नपाउनु यो उपन्यासको ज्यादै मार्मिक पक्ष हो ।
चेतनाको ढोका बन्द भएपछि सबैतिरका सम्भावनाका ढोका बन्द हुन्छन् भन्ने नबुझ्नु र त्यतातर्पm कसैको पनि चासो नपुग्नु खुम्बु क्षेत्रको यो उपन्यासले समेटेको कथाको मूल समस्या हो । गरिबी छ, पछौटेपन छ, विकासका पूर्वाधार छैनन्, जातिगत उत्थानको कुनै योजना छैन । खुम्बु क्षेत्र संसारको दृष्टि परेको क्षेत्र पनि हो । संसारमा हामी नेपालीलाई चिनाउने हाम्रो शिर सगरमाथा त्यहीँ छ । सयौं आरोहीहरू, हजारौं अन्य पर्यटकहरूले दिनहुँ यात्रा गर्ने यो ठाउँको काखैमा बसेको सेछिन गाउँसम्म चेतनाको सानोतिनो झिल्को पनि पुग्न नसकेको तितो यथार्थले यो उपन्यासमा यति मौलिक किसिमले दुःखको कथा भन्न मद्दत गरेको छ । बत्तीको तल अँध्यारो छ, बत्तीलाई आपूm मुनि अँध्यारै छ भन्ने सम्मको हेक्का नहुनाले बत्तीको प्रकाशलाई पनि अँध्यारोले व्यङ्ग्य गरिरहेको छ ।
त्यति अबोध र त्यति निर्दोष किसिमले मानव जीवनमा व्यथाले राज्य गरेको छ । उनीहरूलाई लाग्छ हामीहरूमै कहीँ कतै खोट छ । हाम्रै विश्वास अपुरो छ, हाम्रै आस्था पर्याप्त हुन सकिरहेको छैन । हामी बुद्धमार्गीहरूमा अझै बढी त्यागको खाँचो छ, अभैm समर्पणको खाँचो छ भन्ने शेर्पाहरूको धार्मिक आस्था साँच्ची नै अनुकरणीय छ । तर अनौठो के छ भने सबै अशिक्षित भैकन पनि बुद्धमार्गका कठिनतम साधनाका सूत्रका विषयमा, मन्त्रका विषयमा र परम्पराका विषयमा यी शेर्पाहरू ज्यादै नै जानकार छन् । पढाइ, लेखाइ वा ज्ञानको अभावमा पनि बुद्ध धर्मको आस्था र विश्वासका प्रक्रियामा यिनीहरू सचेत देखिएका छन् ।
समस्या सनातन छन् । समस्याको बयान गर्ने कला अनि तत्कालिक समस्याले पारेको असर नै त लेखकले आफ्नो कृतिहरूमा लेख्ने गर्दछन् । मूलतः यस उपन्यासमा छिरिङ, उसकी छोरी पेमा, उसको लोग्ने दावा अनि छोरो फुर्वालाई मुख्य पात्र बनाएर समस्याको उद्घाटन गरिएको छ । यी प्रतिनिधि पात्रहरूले खुम्बु र त्यस वरपर बसोबास गर्ने अत्यधिक शेर्पाहरूको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको पनि प्रतिनिधित्व गरेका छन् । बाल्यकालमै बाबु र आमाको सम्बन्ध राम्रो नभएपछि एक्लो बन्न पुगेकी पेमालाई मावलीका हजुरबाबु र आमाले बिहे गर्ने उमेरसम्म पालेका छन् । पेमाको बाबु छिरिङ पुस्तक पढ्ने काम गथ्र्यो त्यसैले त्यहाँका अन्य शेर्पाहरूभन्दा भिन्न सोच्थ्यो र भिन्न व्यवहार गथ्र्यो । उसको त्यो भिन्न व्यवहार गाउँलेहरू र विशेषतः उसकी स्वास्नी ग्याल्बोलाई हो न हो किताबहरूको अध्ययनले उसको मस्तिष्क बिग्रिएर मति बिग्रिएर पागल जस्तो भएको हो भन्ने लाग्दथ्यो । त्यसैकारण एक दिन लोग्नेलाई निको पार्ने उद्देश्यले ग्याल्बोले छिरिङ सुतेको बेलामा उसले पढ्ने सबै एघार सय थान किताब जलाइ दिई । त्यो दिन निकै दुःखी भएको छिरिङले सदाको निम्ति ग्याल्बो र पेमालाई छोडेर घरबाट हिंड्यो र त्यसपछि कहिल्यै घर फर्केन ।
छिरिङको अनुपस्थितिमा ग्याल्बो पनि विदेशी नागरिक पिटरसँग अमेरिका हिँडी । मावली हजुरबाबु र आमाले उमेर पुगेपछि नातिनी पेमालाई सेछिन गाउँको दावालाई बिहे गरेर दिए । दावासँग विकट गाउँ सेछिनमा पुगेर पेमा र दावाले प्रेमपूर्वक सुख दुःखमा दिन बिताए । चौरी पाल्ने मुख्य पेशाले उनीहरूलाई घर खर्च चलाउन धौ धौ भयो । उनीहरूको छोरो फुर्वा पनि ठुलो हुँदै थियो । घरखर्च र अन्य आयस्रोत जुटाउने प्रयत्न गर्दा गर्दै दावा हिमाली भरिया बन्न पुग्यो । सगरमाथा चढ्ने पर्यटकहरूको भरिया बनेर एकपटक सगरमाथा चढिसकेको दावा दोस्रो पटक हिमपहिरोमा पुरिएर म¥यो । त्यसपछि पेमा र फुर्वा अनाथ भए, निकै दुःखी भए ।
लोग्नेको मृत्युले विह्वल बनेकी पेमाले छोरो फुर्वामा पढ्ने लेख्ने प्रतिभाको सम्भावना देखेर उसलाई पढाउने र ठुलो लामा गुरु बनाउने सपना देखी । लोग्नेको मृत्युको क्षतिपूर्ति राहतको पैसा लिएर छोरालाई धेरै किताब किनेर लगिदिने र छोरालाई धेरै पढाउने सपना बोकेर पेमा काठमाडौं आई । अनेक हन्डर बेहोरेर बल्ल बल्ल क्षतिपूर्ति रकम लिई छोरो फुर्वाको निम्ति बोराभरि किताब किनेर घर फर्किने बेलामा बाटामा माओवादीको सुरक्षा नियन्त्रणमा परेर घाइते भई । सेनाको निगरानीमा ६ महिनासम्म बेहोस भएकी पेमाको उपचार भयो । उपचारपछि सेनाको छानबिनले ऊ निर्दोष भएको ठहर भएर ६ महिना पछि निको भएर आपूmले किनेका किताबहरू चौंरीमा बोकाएर घर फर्किने बेला बाटो बिराएर सगरमाथा क्षेत्रको हिउँ मैदानमा परी सदाको निम्ति विदा भई । उता आमालाई पर्खेर बसेको फुर्वा आमाको आगमन नभएपछि पढेर लामा गुरु÷रिङ्पोछे बन्ने धोका हुँदा हुँदै पनि परिस्थिति अनुकूल नभएपछि उही बाबु बाजेले अँगाल्दै आएको शेर्पा भरिया बन्ने बाटोमा लाग्यो । यस प्रकार एउटा क्रान्तिको सस्यानो प्रयत्न त भयो तर त्यो पुरा हुन नसकी बिचैमा समाप्त भयो । शेर्पाको नियतिको कथा पहिला जस्तै निरन्तर रह्यो । यही विशादपूर्ण अवस्थामा उपन्यासको कथा वस्तु समाप्त भएको छ ।
प्रायः कथाहरू यसरी नै विशादपूर्ण भएर टुङ्गिन्छन् तर कथा र घटनाले भने कहिल्यै छोड्दैनन् । मन विथोलि रहन्छन् । यो कथा पनि त्यस्तै मनमा विशाद जन्माउने कारण बनेर बसेको छ । मुख्य कुरा यस उपन्यासमा एकातिर शेर्पाहरूको संस्कृति र परम्परालाई ज्यादै मसिनो किसिमले अध्ययन गरेर त्यसको स्वाभाविक प्रयोग गरिएको छ जुन अत्यन्त सशक्त रहेको छ । साथै उपन्यासमा शेर्पा भाषाका खास पारिभाषिक शब्दहरू जसले उनीहरूको रहनसहन, चालचलन, भेषभूषा, धर्म, संस्कृति, संस्कार र सभ्यतालाई बुझाउने गरेका छन् तिनको प्रयोग अत्यन्त स्वाभाविक किसिमले गरिएको छ । अनि बुद्ध धर्मका विभिन्न चरण र अवस्थालाई संकेत गर्ने प्रक्रियाहरूका बारेमा र बुद्ध धर्मको मार्गको अभियन्ताहरूको अवस्था, आचरण र मर्यादालाई ज्यादै मिहिन किसिमले आस्थापूर्वक व्यक्त गरिएको छ । साथ साथै सर्वसाधारणसम्ममा बुद्ध धर्मले पारेको गहिरो प्रभावका विषयमा र धर्मको आस्थासँग जोडिएर आउने अन्धविश्वास र सोही अनुसारको परम्परालाई पनि शेर्पाहरूको संस्कृतिसँग जोडेर कलात्मक किसिमले कटाक्ष गर्ने काम पनि उपन्यासमा भएको छ ।
यो उपन्यास पेमा, दावा र फुर्वाको कथा त हुँदै हो साथसाथै धेरै हिमपुत्रहरूको साझा कथा पनि हो । उपन्यासको यो मूल कथामा धेरै सह कथा र उपकथाहरू पनि जोडिएका छन् । ती कथा र व्यथाहरू पनि यो उपन्यासका प्राण नै हुन् । पेमाको बाल्यकालको साथी कर्मा अनि पेमा र कर्माको बालप्रेम, उनका अबोध, कञ्चन मन र ती मनहरूमा एक अर्कालाई सजाएर राखेको चित्र कम्ता मनमोहक र मार्मिक छैन । पेमा र कर्माको बाटो छुटिएको दिन नै मन भरिएर आउँछ एक प्रकारको रित्तोपनले घेर्न थाल्छ । पेमाकी आमा ग्याल्मोले छिरिङले छोडेपछि अमेरिकी नागरिक पिटरलाई समाती । पिटरले छोरी पेमालाई छोड्ने आग्रह गर्दा सजिलै हुन्छ भनिदिई, फेरि मन एक तमासको भएर आयो । त्यो बिचरी बच्ची पेमा बाबु र आमा दुवैले छोडेपछि कसरी बस्ली भन्ने चिन्ता थपियो । एक मन त ग्याल्मोको कठोर मन सम्झेर रिस पनि उठेको हो । आमाहरू पनि यस्तै हुन् आफ्नो निजी स्वार्थ र सुखभन्दा महŒवका वस्तु छोराछोरी हुँदै होइनन् त्यसैले आमाहरूले पनि त्यति धेरै मातृत्वको अहं नगरे पनि हुन्छ भन्ने जस्तो पनि लाग्यो । तर तुरुन्तै अर्को मनले भन्यो ग्याल्मोको पनि त जीवन छ । छोरीको स्नेहमा उसले सबै जीवन कुण्ठामा बाँच्न पनि त गाह्रो छ । उसले मात्रै कर्तव्य सोचेर पनि त पुग्दैन । नखाएको विषले ऊ पनि डसिनु हुन्न, आफ्नो जीवन बाँच्न पाउनै पर्छ भन्ने लाग्यो । पेमा त जङ्गलकी बिरुवा हो कुनै न कुनै सुरत उसलाई हुर्काउने जिम्मा विधाताले पनि त लिएकै होला । जन्माउनेले त्यसको व्यवस्था पनि गरि दिनै पर्छ भनेर चित्त बुझाउन मन लाग्यो । पेमालाई नासोको रूपमा लिए पेमाका मावालीका हजुरबाबु÷हजुरआमाले ।
भर्तृहरिले भनेका छन् बरु प्राण दिन सजिलो छ नासोको सुरक्षा गर्न त्यति गाह्रो हुन्छ । पेमा नामको नासो दावालाई नबुझाउन्जेल उनीहरूलाई पनि त्यस्तै गाह्रो भयो होला । पेमा दावाको पछि पछि उसको घर जान लागेको दृश्यको वर्णनले शिवदत्तको पछि लागेकी गोमालाई सम्झायो । हुन त शिवजीको पछि लागेकी पार्वती जस्तै उनीहरू आफ्नो कैलाशमा पुगेका थिए । तर आजको कैलाशमा पेमा र दावाको जीवन त्यति सजिलो थिएन । तैपनि प्रेममा सबै कुरा सम्भव भयो ।
हिमाली लेकमा चौंरी गोठाला बनेर उवा र फापरको खेती गरेर पनि उनीहरूले प्रेमका निष्ठालाई जीवन्त बनाएर राखे । दावाको गाउँ, उसका साथीहरू नाङ्सेरे, दोर्जे, काजी, ग्याल्जेन, डोल्माहरूसँग जोडिएका दुःख र करुणाका कथाहरू उत्तिकै मार्मिक र हृदय विदारक छन् । गरिबीको चोट सहेर अनगिन्ती सपनाहरू मनमा सजाएर बाँचेका यी सबै शेर्पा शेर्पिनीहरूका कथाहरू पढ्दा त्यतिकै मन भक्कानिन्छ । यी सबैको जीवन अभावै अभावमा बितेको छ । उनीहरूले जानेको, पिता पूर्खाले गर्दै आएको काम कि त चौंरीको गोठालो बन्नु हो कि त टुरिष्टहरूको भरिया बन्नु हो । उनीहरू त्यो भन्दा पर गएर जीवनलाई व्यवस्थित गर्नेतर्पm पाइला चाल्नै सक्दैनथे । किनकि न उनीहरूसँग शिक्षा÷ज्ञान छ, न उनीहरूसँग रुपैयाँ पैसा छ । आपूm जसरी बाँच्यो त्यसरी नै आफ्ना सन्तानलाई राख्न मन त छैन उनीहरूलाई तर उनीहरूसँग अर्को कुनै विकल्प नै छैन । यसरी जीवन जस्तै बनेर जीवनका बाध्यताहरू पनि उनीहरूका अङ्ग भएर आएका छन् । त्यसैले त्यो भन्दा पर उनीहरूले सोच्नै सक्दैनन् ।
उपन्यासमा नेपालको पछिल्लो राजनीतिक गतिविधिको पनि झलक पाइन्छ । माओवादी जनयुद्धले सर्वसाधारणमा अपारदर्शी किसिमले पार्ने गरेको प्रभाव, राजनीति गर्ने व्यक्तिका स्वार्थपूर्ण सम्बन्धहरू र देशको शासन सत्ता केवल शासकहरूलाई मात्र हो जनताको निम्ति कागलाई बेल सरह हो भन्ने सन्देश पनि व्यक्त भएको छ । जनताले पाउने सास्ती, जनताको गरिबी, पछौटेपन, अशिक्षा, असुरक्षा आदिका विषयमा देश र सरकारलाई कुनै वास्ता नभएको प्रति उपन्यासकारको सांकेतिक असहमति पनि उपन्यासमा अभिव्यक्त भएको छ ।
यो उपन्यासको ज्यादै सशक्त यसको शैली पक्ष हो । साथसाथै ठाउँ ठाउँमा परिकल्पना गरी भनिएका छोटा कथाहरू जसले सांकेतिक रूपमा धेरै सारगर्भित कुरा भनिरहेका हुन्छन्, ती ज्यादै सशक्त छन् । सुरुमा त्यो परिकल्पना पेमा र कर्माले प्रारम्भ गरेका थिए । विशेषतः पेमाले आफ्नो जन्मका विषयमा कल्पना गरेर भनेको कथाबाट यस्ता कथाहरू प्रारम्भ भएका हुन् पछि त्यसैगरी पाका मानिसहरूको निम्ति पनि अन्धविश्वास र रुढीलाई जनाउन त्यसप्रकारका कथाहरू भनिएका छन् भने पेमाले अनि छिमिले फुर्वालाई पनि त्यस्ता कथा भनेका छन् । यस्ता कथाहरू उता फिर्फिरे उपन्यासमा जुठी आमैले बसन्त र पवनलाई भनेको सम्झना ताजा भएर आयो । यी कथाहरू फिर्पिmरेकै शैलीका भएर पनि मौलिक छन् ।
यो उपन्यासमा उज्यालोको खोजी गरिएको छ । सदियौंदेखि अज्ञानको निस्पट्ट अँध्यारोमा बाँच्न विवश रहेका खुम्बु क्षेत्रका शेर्पाहरू यति सारो पछि पर्नुको मुख्य कारण अशिक्षा र गरिबी हो । भौगोलिक विकटता, साधन स्रोतको अभाव र इच्छा शक्तिको कमीले गर्दा यहाँका आदिवासी शेर्पाहरू आफ्नो पुरानै परम्परा र अवस्थाबाट माथि उठ्ने प्रयत्न गर्न सकेका छैनन् । नियतिलाई शिरोधार्य गर्दै आएका यी जातिमा पछिल्लो समयमा केही परिवर्तनको इच्छा भए पनि त्यसलाई चरितार्थ गर्नेतर्पm न त यिनीहरू लागि परेका छन् न त यो क्षेत्रलाई व्यवस्थित गर्न केन्द्रीय तहबाट नै कुनै पहल भएको छ । बौद्ध लामा गुरुहरू, रिङ्पोछेहरूलाई देवता सरहका मान्ने शेर्पाहरूले आफ्ना सन्ततिलाई लामा गुरु बनाउन त चाहन्छन् तर एकातिर सामथ्र्यको कमी छ भने अर्कोतिर त्यो प्रकारको वातावरण बन्न सकेको छैन । जसले गर्दा उनीहरू किम्बदन्तीमा, अन्धविश्वासमा र अन्ध आस्थामा जे जति चित्त बुझाउन सकिन्छ त्यही गरेर बस्नु शेर्पाहरूको नियति बनेको छ । बाहिरबाट हेर्दा विश्वको दृष्टि परेको खुम्बु क्षेत्र वास्तवमा भने दृष्टिविहीनहरूको बस्ती जस्तो बनेको छ ।
छिरिङले के कसरी हो आपूmले किताब पढ्न जानेको थियो । किताबले उज्यालो दिन्छ आँखा दिन्छ भन्ने उसलाई थाहा थियो र उसले अरु सबैलाई पनि र आफ्नी छोरी पेमालाई किताबको उज्यालो दिन चाहन्थ्यो तर परम्पराको अँध्यारोलाई आपैmले पनि चिर्न नसकेर पलायन भयो । पेमाको बालसखा कर्मा रिङ्पोछे भयो तर रिङ्पोछे वा लामा गुरु हुनेहरू पनि आफ्नै मात्र आत्मोन्नतिमा रमाउने किसिमका भए । समाजलाई पनि उठाउनु पर्छ भन्ने अभियान चलाउनतिर लागेनन् । एकोहोरो बुद्ध धर्मका भक्तिवादी समर्थक मात्र बन्न सके । पेमाले आपूmले किताब पढ्ने वातावरण पाइन तर उभित्र बीज रूपमा बसेको उज्यालो खोज्ने चेतना धेरैपछि मूर्त रूपमा आयो । उसले छोरालाई किताब पढाएर ठुलो मान्छे बनाउने सपनासम्म उमार्न सकी । उसले धेरै नबुझे पनि किताबले उज्यालो दिने हुनाले यो खुम्बुको अँध्यारोलाई चिर्न किताबको खेती गर्नुपर्छ भन्ने बुझेर त्यो अभियानमा लागेकी सम्म हो । तर परिस्थितिको बलियो पञ्जामा जकडिएर उसले समयमै त्यो सपनाको थालनी गर्नै पाइन । उसले छोराको निम्ति किनेका बोराभरिका किताबहरू कसैलाई सत्ता पल्टाउने बम बनेर प्रकट भए, कसैलाई राज्यद्रोह र आतंक मच्चाउने साधन बने ।
यसरी विवेकहीन समाज र परिस्थितिले मानिसलाई सार सुहाउँदो बाँच्ने दिँदैन । अत्यन्त लज्जास्पद बनेर कठोर परिस्थिति अगाडि उभिएपछि विक्षिप्त जस्तै बनेकी पेमाले छोराको निम्ति बोकेका किताबहरू लिएर फर्किन सम्म त सकी तर टुङ्गोमा पुग्न पाइन । ऊ हिमालमा विलाए पनि उसको फुर्वाले समयमै पुस्तकको उज्यालो देख्न नपाए पनि उसको खुम्बु सेछिनमा पुस्तकको उज्यालो पुगेको छ ।
पेमाले छोरालाई पठाएका किताब लिएर लामा सिङ भएको चौरी गाउँमा प्रवेश गरेको छ । अब छिट्टै नै आजका र भोलिका छिरिङ, दावा र पेमाहरूले आफ्ना फुर्वा र पेमाहरूलाई किताबको उज्यालो संसारमा प्रवेश गराउने छन् । पेमाले आफ्ना फुर्वालाई पठाएका किताबहरू गाउँभरि र खुम्बु क्षेत्रै भरि उज्यालो छर्ने माध्यम बन्ने छन् । खुम्बुले किताबको उज्यालोले संसार हेर्ने छ । सदियौं देखिको अघोषित दासताबाट सेछिनले मुक्ति पाउने छ । पेमाको सपना उसको फुर्वामा चरितार्थ हुन नसके पनि यसको थालनी भएको संकेत गर्दै खुम्बुका देउताले पठाएको हिमाली हाँसको एउटा प्वाँख सल्लीपिरले छोपिएको मसिनो बाटोमा आएर थपक्क बसेको छ । ती सल्लीपिर जहाँ पेमा र कर्माका सपनाहरू पनि छोपिएका थिए । खुम्बुका सपनाहरूलाई छोपेर राखेका सल्लीपिरमा अब गति आउने छ । अब सल्लीपिरले खुम्बुको अँध्यारोलाई छोप्ने छन् र आपूmले लुकाएर राखेको खुम्बुको उज्यालो सल्लीपिरले फिर्ता गर्ने छ । अब सल्लीपिर सपना लुकाउने साधन नभएर उज्यालो पैmलाउने र अँध्यारो लुकाउने साधन बन्नेछन् । सल्लीपिर हिमक्षेत्रको मौलिक सौन्दर्य र विशेषता पनि हो । सल्लीपिरको सङ्कलनमा युगौँ अँध्यारोमा बिताएका पेमा, कर्मा, दावा, छिरिङहरूले अब सल्लीपिर उघारेर सल्लीपिरले छोपेर राखेको उज्यालो खोज्न लाग्नेछन् र आवश्यक प¥यो भने अब सल्लीपिरले खुम्बुको अँध्यारोलाई ढाकेर राख्नेछ ।
प्रतिक्रिया दिनुहोस्