२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


पुनिर्निर्माणमा इन्जिनियरले काम पाएनन्


0
Shares

काठमाडौं, साउन ९ । भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियर कामविहीन भएका छन् । समयमै अनुदान रकम नपाएर भूकम्पपीडितले घर निर्माण सुरु नगरेकाले इन्जिनियरहरू कामविहीन भएका हुन् ।

भूकम्प प्रभावित ११ जिल्लाका दुई लाख ४४ हजार ६ सय २४ पीडित परिवारसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेको छ । तीमध्ये ३४ हजार नौ सय ४८ पीडित परिवारको खातामा मात्रै पहिलो किस्ताको ५० हजार रुपैयाँ जम्मा भएको छ ।

बर्खा लागेपछि रकम पाएकाले भूकम्पपीडित कसैले पनि घर निर्माण गर्न सकेका छैनन् । प्राधिकरणले भूकम्पपीडितका घर निर्माणमा सघाउने भन्दै भूकम्प प्रभावित ११ जिल्लामा एक महिनाअघि दुई हजार ६ सय इन्जिनियर परिचालन गरेको छ ।

आफ्नो काम नभएपछि उनीहरू गाविस कार्यालयको सहायकका रूपमा छन् । खातामा रकम पुगेका भूकम्पपीडितले निर्माण नथालेकाले इन्जिनियरहरूले काम गर्न नपाएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनन्तबहादुर सिलवालले जानकारी दिए । ‘अनुदान सम्झौता भएर केही पीडितको खातामा रकम पनि आयो । तर, घर बनाउन थालिएको छैन,’ सिलवालले भने, ‘केन्द्रबाट इन्जिनियर आएका छन् । उनीहरू गाउँमा पुगेका पनि छन् । तर, काम गर्न पाएका छैनन् ।

घर बनाउने काम नै सुरु भएको छैन । यस्तो अवस्थामा उनीहरूले के काम गर्ने रु’ गोरखाका सहायक सिडिओ नेत्रबहादुर शर्माले घर बनाउन खटिएका इन्जिनियर अनुदान सम्झौतामा गाविससचिवलाई सघाएर बसेको बताए । उनले भने, ‘इन्जिनियरहरूले अहिले गाविससचिवसँग बसेर अनुदान सम्झौता गर्न सघाउने काममा खटिएको सुनिएको छ ।

निर्माण सुरु नभएकाले विज्ञताअनुसारको काम गर्न पाएका छैनन् ।’ काभ्रेका सिडिओ बालकृष्ण पन्थीका अनुसार भूकम्पपीडितले घर बनाउन थालेपछि इन्जिनियर पनि काममा लाग्ने बताए । ‘अहिले गाविससचिवलाई सघाइरहेका छन् ।

निर्माणका काम सुरु भएपछि उहाँहरूको खास काम पनि सुरु होला ।’ प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले पुनर्निर्माणमा खटिएका इन्जिनियरलाई अहिले गाविससचिवलाई सघाउन भनिएको बताए । उनले भने, ‘जिल्लामा खटिएका सबै इन्जिनियरलाई गाविससचिवलाई सघाउन भनेका छौँ । सोहीअनुसार उनीहरूले अनुदान सम्झौतामा सघाएका छन् । निर्माणकै काममा भने खटाउन सकिएको छैन ।’  -नयाँ पत्रिका दैनिकबाट