१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


जर्मनी आक्रमणपछि युरोपमा त्रास, आप्रबासी र शरणार्थीका लागि कठीन


0
Shares

काठमाडौं, साउन ८ । जर्मनीको म्युनिखस्थित ओलिम्पिया सपिङ सेन्टरमा शुक्रबार राति भएको गोलाबारीले फेरि युरोपलाई त्रास र असुरक्षाको अनुभूति दिलाएको छ । आक्रमणकारी इरानीमूलको रहेको बताइएको छ ।

युरोपमा एकपछि अर्को आक्रमणपछि आप्रबासी र शरणार्थीका लागि कठीन अवस्था सुरु भएको अड्कन गर्न थालिएको छ ।

म्युनिखका सन्चारमाध्यमले त्यहाँको आक्रमणले आप्रबासीमाथि असर पुर्‍याउनसक्ने विश्लेषण गरेका छन् ।

म्युनिख आक्रमणपछि लगभग सात घन्टासम्म आक्रमणकारीको खोजीमा पूरै सहर एक किसिमबाट बन्द जस्तै गरिएको थियो । सर्वसाधारणलाई घरबाहिर ननिस्कन सुचित गरिएको थियो ।

जर्मनीको बवेरियामा गत हप्ता अफगान नागरिकले गुडिरहेको रेलमा आक्रमण गरेका थिए । बवेरिया जर्मनीको सम्पन्न तर रुढीवादी क्षेत्र मानिन्छ ।

फ्रान्सको नीस सहरमा सडकमा लरी गुडाएर आतंककारी आक्रमण गरिएबाट युरोपमा त्रासका माहोल सिर्जना भएकाबेला अरु प्रकृतिका आतंककारी आक्रमण युरोपेली मुलुकमा हुन पुगेका छन् ।

आक्रमणपछि सबैभन्दा चिन्ताको विषयमा युरोपमा रहेका शरणार्थी छन् । किनकी, म्युनिख आक्रमणकारीसँग इरान र जर्मनीको दोहोरो नागरिकता थियो ।

जर्मनीमा सन् १९८० देखि १९९० सम्म धेरै इरानी पुगेका थिए । जर्मनीमा अहिले १० लाखभन्दा बढी शरणार्थीलाई आश्रय दिइएको छ ।

आगामी दिनमा शरणार्थीको प्रवाह र गतिविधिले युरोप थप समस्या ब्यहोर्न बाध्य हुने आशंका गरिएको छ ।

हालैमात्र कोलोनमा भएको आक्रमणमा पनि आप्रबासीको संलग्नता रहेकाले उनीहरुविरुद्ध स्थानीयको आक्रोश चुलिएको छ ।

युरोप र जर्मनीमा भइरहेका आतंककारी आक्रमणले आप्रबासी र शरणार्थीका लागि अझै कठीन अवस्था बन्नसक्ने अवस्था भने नकार्न सकिँदैन । (एजेन्सी)