११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


इंग्ल्याण्ड भ्रमणमा शतप्रतिशत जित निकालेको नेपाली क्रिकेट टोली स्वदेश फिर्ता


0
Shares

                                                               फाइल फोटो
काठमाडौं, साउन ७ । इंग्ल्याण्ड भ्रमणमा शतप्रतिशत विजयी नतिजा निकाल्दै नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

आगामी साउन २९ र ३१ गते विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् नेदरल्यान्ड्सविरुद्ध हुने खेलको तयारीका लागि इंग्ल्यान्ड गएको नेपाली टोली शुक्रबार अपराह्न स्वदेश फर्किएको हो ।

नेपाली टोलीले लन्डनस्थित क्रिकेट सुरुआत भएको लर्ड्स मैदानमा विश्वकै पुरानो मेरिलेबोन क्रिकेट क्लबविरुद्ध ऐतिहासिक खेल खेल्दै ४१ रनको विजयी नतिजा निकालेको थियो ।

भ्रमणकाक्रममा स्थानीय टोलीहरुसँग त्यसअघि खेलेका चार खेलमा पनि नेपालकै जित भएको थियो ।

पारस खड्काको कप्तानीमा इंग्ल्यान्ड गएको टोलीले सम्पूर्ण मैत्रीपूर्ण खेल जितेसँगै नेदरल्यान्ड्सविरुद्ध उच्च प्रदर्शन गर्ने बिश्वास लिइएको छ ।

भ्रमणकाक्रममा नेपाली बलरहरुले कसिलो बलिङलाई निरन्तरता दिँदा ब्याट्सम्यानहरुले पनि प्रदर्शनमा सुधारको संकेत गरेका छन् ।

यद्यपि, सुरुआतीक्रमका ब्याट्सम्यानहरुले जस्तो प्रदर्शन मध्यक्रमका ब्याट्सम्यानहरुले गर्न नसक्नु प्रशिक्षक जगत टमाटाका लागि चुनौतीको विषय बनेको छ ।

विशेषगरी सुवाश खकुरेल, विनोद भण्डारीलगायतको आत्मविश्वास अझै फर्कन नसकेको देखिएको छ ।

शरद भेषावकर, पारस खड्का ज्ञानेन्द्र मल्लको राम्रो प्रदर्शन, सागर पुन, बसन्त रेग्मी, सोमपाल कामीलगायतको ‘अलराउन्ड’ प्रदर्शन र राजु रिजाल, सन्दीप लामिछानेलगायतका नयाँ खेलाडीहरुको उच्चप्रदर्शनले नेपाली टोली हौसिएको छ ।

इंग्ल्यान्ड भ्रमणमा गरेको प्रदर्शनका आधारमा अन्तिम टोलीको टुंगो लगाउँदै नेपाली टोली विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् चौंथो चरणको खेल खेल्न नेदरल्यान्ड्स जानेछ ।