
कश्मीर, साउन ७ । भारत अधिनस्थ कश्मीर क्षेत्रमा हिंसा भड्किरहेकै समयमा पाकिस्तान अधिनस्थ कश्मीर क्षेत्रमा चिनियाँ र पाकिस्तानी सेनाले संयुक्त गस्ती गरेका छन् ।
चिनियाँ सरकारी संचारमाध्यमले कश्मीर क्षेत्रमा चिनियाँ र पाकिस्तानी सेनाको संयुक्त गस्तीको तस्वीर सार्वजनिक गरेको हो । तस्वीरमा दुबै मुुलुकका सैन्य टोली आ–आफ्नो मुलुकको झण्डासहित गस्तीमा निस्किएको दृष्य देखिन्छ ।
समाचार एजेन्सीहरुका अनुसार शिनजाङ्ग सीमा क्षेत्रमा संयुक्त गस्ती गरिएको हो ।
भारतका गृहमन्त्री राजनाथ सिंहले यसबारे प्रतिक्रिया दिदैं ‘अर्काको घरमा आगो लगाउने कार्य आफ्नो लागि पनि खतरापूर्ण हुने’ बताएका छन् ।
सो क्षेत्रमा सन् २०१४ मा पनि चिनियाँ सेना देखिएको थियो । तर त्यतिबेला चिनियाँ सेनाले मात्र आफ्नो उपस्थिति जनाएको भए पनि पछिल्लो पटक चीन र पाकिस्तानका सेनाले संयुक्त गस्ती गरेपछि भारत तनावमा रहेको हो ।
भारत अधिनस्थ कश्मीर क्षेत्र हिंसाको चपेटामा परिरहेको समयमा पाकिस्तानतर्फको कश्मीरमा भारतका दुई प्रतिद्वन्द्वी मुलुकको सहकार्य प्रकाशमा आएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्