११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


इंङ्गल्याण्डको राष्ट्रिय फुटबलको प्रशिक्षकमा अलार्डायस आउने


0
Shares

काठमाडौं, साउन ६ । इंङ्गलिस प्रिमियर क्लव सण्डरल्याण्डका प्रशिक्षक साम अलार्डायस इंङ्गल्याण्डको राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षक नियुक्त हुने भएका छन् ।

युरोकप फुटबलमा इंग्लण्डले सोचे अनुरुपको प्रदर्शन गर्न नसकेपछि तत्कालिन प्रशिक्षक रोय हज्सनले पदबाट राजिनामा दिएका थिए ।

त्यसपछि रिक्त रहेको पदमा अलार्डायसलाई नियुक्त गर्न इंङ्गलिस फुटबल संघ एफए. ले अन्तिम तयारी गरिरहेको छ ।

संभवतः आजै अलार्डायसको नियुक्ती सार्वजनिक गरिने बेलायती सञ्चार माध्यमहरुले बताएका छन् ।

विगत ९ महिनादेखि सण्डरल्याण्डको प्रशिक्षक रहेका ६१ वर्षीय अलार्डायसले यसअघि वेष्ट ह्याम युनाईटेड, न्युकासल युनाईटेड र बोल्टन वान्डरर्सको पनि प्रशिक्षण समालेका थिए ।

आफ्नो करियरमा कुनैपनि मेजर फुटबल प्रतियोगिताको उपाधि जित्न नसकेका अलार्डायसले बोल्टन र वेष्ट ह्यामलाई च्याम्पियनसिपबाट प्रिमियर डिभिजनमा उकालेका थिए ।

सन् २००६ मा तत्कालिन प्रशिक्षक स्वेन गोरान एरिक्सनले छाडेपछि रिक्त रहेको इंग्लीश मेनेजरको पदका लागि एफ.ए.सँग अन्तर्वाता दिएका अलार्डायस त्यतिवेला राष्ट्रिय टोलीको नेतृत्व लिन असफल भएका थिए ।

फुटबल संघले त्यतिवेला स्टिभ मक्लरेनलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।