१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


कालो स्टिकर टाँस्ने दुई हजार सवारी साधनलाई कारवाही


0
Shares

काठमाडौं, साउन ६ । सुरक्षा निकायले गत आर्थिक वर्षमा राजधानी लगायत मुलुकभरबाट झण्डै दुई हजार सवारी साधनलाई अनुमति विना कालो स्टिकर टाँसेको भन्दै कारवाहीको दायरामा ल्याएको छ ।

कालो स्टिकर टाँसेका गाडी आपराधिक गतिविधिमा समेत संलग्न भएकाले कारवाहीको दायरामा ल्याइएको हो ।

साना गाडी उत्पादन कम्पनीले नै आफ्ना गाडीमा कालो सिसा राखेर पठाउने गरेका कारण त्यसलाई कारवाहीको दायरामा ल्याउन निकै मुस्किल भएको सुरक्षा निकायको निष्कर्ष छ ।

राजधानी लगायत प्रमुख सहरमा कालो सिसा भएका सवारी साधन प्रयोग गरेर अपराध गर्नेको संख्या बृद्धि हुँदै गएपछि प्रहरीले देशभरका मातहतका निकायलाई कालो सिसा प्रयोग भएका सवारीलाई कारवाहीको दायरामा ल्याउन निर्देशनसमेत दिएको छ ।

विगतका आर्थिक वर्षमा कालो सिसा भएका सवारी साधन प्रयोग गरेर अपहरण, फिरौती उठाउने लगायतका झण्डै ५ सय अपराध भएको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको तथ्यांकमा उल्लेख छ ।

सरकारले सुरक्षा ‘थ्रेट’ भएका व्यक्तिलाई स्थानीय सुरक्षा समितिको सिफारिस अनुसार उसले प्रयोग गर्ने सवारीसाधनमा मात्रै कालो स्टिकर टाँस्न दिने कानुनी प्रावधान छ । तर पहुँच भएका तथा समाजमा रवाफ देखाउन पनि कतिपयले कालो स्टिकर टाँस्ने अनुमति लिने गरेको सुरक्षा अधिकारी बताउँछन् ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले झण्डै १ हजार ३ सय उच्च तहका व्यक्तिका लागि मात्रै सिसामा कालो स्टिकर टाँस्ने अनुमति दिए पनि राजधानीमा चल्ने झण्डै १० हजार सवारी साधनमा कालो सिसा भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुमान छ । –राजधानी दैनिकबाट