
लन्डन, साउन ५ । मदिरा सेवन गरेर उडान गर्न लागेको आरोपमा दुईजना विमानचालकलाई स्कटल्यान्डमा सोमबार पक्राउ गरिएको छ ।
विमान चालकले स्कटल्यान्डबाट टोरोन्टोका लागि सोमबार एअर ट्रान्साटको ‘ए ३१०’ विमानमा २५० यात्रु लिएर उडान भर्ने तयारीमा रहेकाबेला मदिरा सेवन गरेको बताइएपछि तत्कालै उनीहरुलाई पक्राउ गरिएको थियो ।
मंगलबार स्कटल्यान्डका ३९ वर्ष र ३७ वर्षका दुबैजनालाई पेस्ली सेरिफ कोर्टमा उपस्थित गराइने बताइएको थियो ।
चालकहरुलाई मदिरा सेवन गरेको आरोपमा पक्राउ गरिएपछि उक्त विमानको उडान स्थगित गरी यात्रुहरुलाई होटलमा राखिएको थियो ।
एअर ट्रान्साटका प्रवक्ताले विमानका दुई कर्मचारी पक्राउ परेको पुष्टि गरेपनि उनीहरुको मुद्दा अदालतमा पुगिसकेकाले अनुसन्धानपूर्व केही नबताउने बताए ।
‘हामी चालकदलका सदस्य र यात्रुको सुरक्षाप्रति सजक छौं र रहने छौं’–एअर ट्रान्साटका प्रवक्ताले बताए ।
स्थगित विमानको मंगलबार टोरोन्टोका लागि उडान हुने बताइएको थियो । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्