
काठमाडौं, साउन ५ । अन्तरजातीय विवाह गरेका काभ्रे, होक्से वडा नम्बर–३ का अजित ढकाल मिजारको शंकास्पद मृत्युमाथि छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न राष्ट्रिय दलित आयोगले सरकारसँग माग गरेको छ ।
आयोगले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी भर्खरै एसएलसी सकेर बसेका अजित ढकाल मिजारको शव गत असार ३० गते धादिङको गजुरीमा भेटिएको र उनको मृत्यु शंकास्पद देखिएको भन्दै छानबिनको माग गरेको हो ।
गजुरीमा झुन्डिएको अवस्थामा मिजारको शव भेटिएको थियो ।
पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले उक्त घटनाको छानबिन गर्न कमिटी गठन गरिएको जानकारी दिँदै दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।
मृतक ढकालले कल्पना पराजुलीसँग असार २५ गते प्रेमविवाह गरेका थिए ।
त्यसैको दुई दिनपछि प्रहरीले विवाहको उमेर नपुगेको कारण देखाइ दुबैजनालाई परिवारको जिम्मा लगाइदिएको थियो ।
प्रतिक्रिया दिनुहोस्