११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपालले मेरिलेबोन क्रिकेट क्लबलाई दियो २१८ रनको चुनौती (लाइभ भिडियो)


0
Shares

अपडेटः

काठमाडौं, साउन ४ । नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सामु २१८ रनको चुनौती पेस गरेको छ ।

इंग्ल्यान्डको लन्डनस्थित लर्ड्स क्रिकेट मैदानमा मंगलबार टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा २१७ रन बनाउन सक्यो ।

चौथो ओभरको सुरुआतमै ओपनर अनिल मण्डललाई व्यक्तिगत् दुई रनमा गुमाएको नेपालका लागि अर्का ओपनर ज्ञानेन्द्र मल्लले ३९ रन बनाउँदै पारी सम्हाले ।

त्यस्तै, कप्तान पारस खड्काले ३०, शरद भेषावकरले २७, सागर पुनले २६, अविजित रहेका बसन्त रेग्मी र राजु रिजालले समान २४ तथा सोमपाल कामीले २० रन बनाएपछि नेपालको सम्मानजनक स्कोर खडा भएको हो । त्यसैगरी, विनोद भण्डारीले ९ रन बनाएका थिए ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएको उपलक्ष्यमा ‘क्रिकेटको घर’कारूपमा परिचित लर्ड्समा नेपाली टोलीले त्यहाँको घरेलु क्रिकेट क्लबसँग खेल्ने अवसर पाएको हो ।

लर्ड्स विश्वकै सबभन्दा पुरानो क्रिकेट मैदान हो भने मेरिलेबोन पनि पुरानो क्रिकेट क्लब हो ।

मेरिलेबोनको निम्तोमा करिब साताअघि इंग्ल्यान्ड गएको नेपाली टोलीले मैत्रीपूर्ण खेलको तयारीस्वरूप लन्डनमा चारओटा अभ्यास खेल खेलेको थियो र सबैमा जित निकालेको थियो ।

लर्ड्स क्रिकेट मैदानलाई कतिपयले ‘क्रिकेटको मक्का’समेत भन्ने गरेका छन् ।

जारी खेलमा दुबै टोलीका खेलाडीले टेस्ट खेल्दा लगाउने सेतो जर्सी लगाएका छन् ।

नेपाली खेलाडीलाई हौसला बढाउन नेपाली दर्शक राष्ट्रिय झन्डा र क्रिकेट जर्सीसहित उपस्थित भएका छन् । करिब पाँच हजार दर्शकले अनलाइनका माध्यमबाट टिकट काटेको बताइएको छ ।

मेरिलेबोनले जवाफी ब्याटिङ गर्दैछ । रासस

लाइभ भिडियो हेर्नुहोस्