
नयाँ दिल्ली, साउन ४ । देश–विदेश घुम्न जोकोहीलाई मन लाग्छ तर घुम्नकै लागि रकमको जोहो गर्न भने धेरैले सक्दैनन् । त्यसैले कतिपयले आफ्नो रहरलाई त्याग्नु परेको हुन्छ ।
भारत, जोधपुरका अनितेश गिरी गोस्वामी यस्तै रहर भएका युवा हुन् । २३ वर्षीय गोस्वामीलाई घुम्न त मन थियो र उनीसँग पर्याप्त रकम थिएन ।
आइटीका ज्ञाता उनले केही समय किंगफिशर र एयर इन्डियाजस्ता एअरलाइन्स कम्पनीमा जागिर पनि खाए । त्यतिबेलाको अनुभवले विमान कम्पनीको टिकट कसरी बुक गरिन्छ भन्नेकुरा बुझ्न उनलाई पर्याप्त ज्ञान दियो ।
सोही ज्ञानलाई दुरुपयोग गर्दै उनले एअर इन्डिया विमानसेवा कम्पनीको वेबसाइट ह्याक गर्दै सयौं टिकट बनाए । केही टिकटमा उनी आफैं विभिन्न रुटमा घुम्न गए भने केही टिकट उनले टुर अपरेटरहरुसमक्ष बेचिदिए । यसरी बेचेका टिकटबाट उनले आफ्नोलागि घुम्ने खर्च निकाल्थे ।
लामो प्रयासपछि दिल्लीको साइबर क्राइम सेलले उनलाई पक्राउ गरेको छ । उनका साथबाट प्रहरीले एउटा ल्यापटप, केही मोबाइल र एअर इन्डियासँग सम्बन्धित केही दस्तावेज बरामद गरेको छ ।
प्रहरीका अनुसार उनले अहिलेसम्म त्यसरी सयौं टिकट लिइसकेको पाइएको छ । ती टिकटबाट उनले शुल्क तिरेका थिएनन् । वेबसाइट ह्याक गरी अनलाइन टिकट बुक गरेर उनले टिकट हात पार्ने गरेको अनुसन्धानबाट खुलेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्