२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


नेपालका प्रमुख सहरी क्षेत्रमा छिट्टै फोरजी सेवा सन्चालन हुने


0
Shares

काठमाडौं, साउन ३ । सरकारले मोबाइल प्रयोगकर्ताको सुविधाका लागि आगामी असोज(अक्टोबर) महिनापछि नेपालका प्रमुख सहरी क्षेत्रमा ‘फोरजी’ सेवा सन्चालनमा ल्याउने भएको छ ।

सूचना तथा सन्चार मन्त्रालयमा सोमबार आयोजित पत्रकार भेटघाटमा रेडियो फ्रिक्वेन्सी निर्धारण समितिका अध्यक्षसमेत रहेका सूचना तथा सन्चारमन्त्री शेरधन राईले तीन महिनापछि यो सेवा सन्चालनमा ल्याउन प्रयास भइरहेको बताए ।

सरोकारवाला तथा विज्ञसँगको छलफलमा रेडियो फ्रिक्वेन्सी (बाँडफाँँड तथा मूल्यसम्बन्धी) नीति २०७३ लाई परिमार्जनसहित लागू गरिएको जानकारी दिँदै उनले अबदेखि रेडियो फ्रिक्वेन्सी सेवालाई व्यवस्थितरुपले प्रयोगमा ल्याइने र यसका लागि तटस्थताको नीति अपनाइएको पनि बताए ।

वितरण भएका फ्रिक्वेन्सी कुनैपनि सेवाप्रदायक संस्थाले ‘होल्ड’ गरेर राख्न नपाउने, बढी भएका फ्रिक्वेन्सी फिर्ता गर्नुपर्ने र प्रयोगमा आएका सेवा प्रदायक संस्था एक–आपसमा गाभिन चाहे मार्गप्रशस्त गरिने बताइएको थियो ।

पत्रकार भेटमा दूरसन्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र नेपाल दूरसन्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले परिमार्जित नीतिबाट सेवा प्रदायक संस्थाले एक हजार ८०० ब्यान्डमा एलटीइ/फोरजी सेवा र ९०० ब्यान्डमा थ्रीजी सेवा सन्चालन गर्न पाउने, ग्रामीण दूरसन्चार कोष परिचालन गरी सबै दुर्गम ग्रामीण क्षेत्रलाई अप्टिकल फाइबरको सन्जालमा जोडिने, यस क्षेत्रमा दोहोरो लगानीलाई निरुत्साहित गरिने जानकारी दिए । रासस