९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


टर्कीमा सैन्य ‘कू’पछिको भिडन्तमा ६० जना मारिए, संसद, विमानस्थल कब्जा (फोटोफिचर)


0
Shares

अपडेट

काठमाडौं, साउन १ । टर्कीमा सैनिकहरुको एउटा समूहले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ ।

शुक्रबार रातिदेखि राजधानी अंकारा र अर्को मुख्य सहर इस्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन गरिएको छ ।

एक टीभी स्टेसनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको र छिटै नयाँ संविधान जारी हुने बताएका छन् ।

टर्कीमा सत्ता अपदस्त गरी सैनिक कानुन लागू गरिएको घोषणासमेत गरिएको छ । सैनिक अधिकारीहरुले दशैभर कर्फ्यु आदेश जारी गरिएको बताएका छन् ।

सैनिक ‘कू’मा कुन तहका सैन्य जर्नेलको सहभागिता छ भन्ने अहिलेसम्म प्रस्ट हुन सकेको छैन ।

टर्कीका प्रधानमन्त्री र राष्ट्रपतिले टर्कीको सत्ता आफ्नो नियन्त्रणमै रहेको र सैनिकहरुको सानो समूहले विद्रोह गरी सैनिक ‘कू’को प्रयास गरेपछि त्यसलाई विफल बनाउन लागिएको दाबी गरेका छन् ।

सैन्य ‘कू’पछिको भिडन्तमा टर्कीको राजधानी अंकारामा ६० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । त्यसमा अधिकांश सर्वसाधारण रहेको जनाइएको छ ।

त्यहाँका सरकारी अधिकारीहरुकाअनुसार ‘कू’गर्न खोज्नेमध्येका केहीलाई गिरफ्तार गरिएको छ ।

सरकारी समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार सेनाको विशेष दस्ताको मुख्यालयमा १७ प्रहरीको मृत्यु भएको छ ।

टर्कीका राष्ट्रपतिले सीएनएनसँग कुरा गर्दै आफू इस्तानबुल फर्किन लागेको र त्यहाँ पुगेपछि सबै कुरा नियन्त्रणमा लिने बताए ।

उनले प्रजातन्त्रका पक्षमा सडकमा उत्रिन टर्कीका जनतालाई आह्वानसमेत गरेका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिले सत्ता आफ्नो हातमै रहेको भने पनि सडकमा तैनाथ ठूलो संख्याका सैनिकले मुख्य सामरिक स्थान नियन्त्रणमा लिएका छन् ।

संसद भवन, इस्तानबुल र अंकाराका विमानस्थललगायतका स्थानमा नियन्त्रणमा लिएर बन्द गरिएको छ । स्तानबुल विमानस्थलका सबै उडान रद्द गरी बिमानस्थल बन्द गरिएको छ ।

इस्तानबुल र अंकारामा विस्फोटका आवाज सुनिएको र ‘कू’को विरोधमा सडकमा उत्रिएकाहरुविरुद्ध सेनाले गोली चलाएको बताइएको छ ।

विद्रोही सैनिकहरुको समूहले ‘कू’को विपक्षमा रहेका सैनिक जर्नेललाईसमेत नियन्त्रणमा लिएर सेनाको कमान्ड आफ्नो हातमा लिएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले आगामी केही घन्टा टर्कीमा सत्ता आफ्नो नियन्त्रणमा लिन सैनिक र गैरसैनिक पक्षबीच कडा संर्घष हुनसक्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति बराक ओबामासहितका नेताहरुले टर्कीको प्रजातन्त्रका पक्षमा उभिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । (एजेन्सी)