
काठमाडौं, असार ३१ । फ्रान्सको नीस सहरमा आतंकवादी आक्रमणमा परी कम्तिमा ८४ जनाको मृत्यु भएको छ ।
आक्रमणमा अरु एक सयभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये १८ को अवस्था गम्भीर छ ।
‘बास्टिल डे’ मनाउन मेला भएकाहरुको भीडभाडयुक्त क्षेत्रमा लरी गुडाएर आतंकवादी आक्रमण गरिएको हो । बास्टिल डेलाई फ्रान्समा राष्ट्रिय दिवसकारुपमा मनाउने गरिन्छ ।
दिवसका अवसरमा उत्सव मनाइरहेको भीडमा लरी गुड्दा ठूलो संख्यामा मानिस मारिएको बताइएको छ ।
लरीलाई रोक्न प्रहरीले गोली चलाएको र सोहीक्रममा चालकको मृत्यु भएको बताइएको छ । लरीमा ग्रीनेड तथा बन्दुक फेलापरेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
लरीचालक ट्युनिसियाली मूलको र नीस निवासी रहेको बताइएको छ ।
यसैबीच, फ्रेन्च राष्ट्रपति फ्रान्स्वाँ ओलान्दले घटनालाई आतंकवादी आक्रमण भन्दै गत वर्षदेखि जारी आपतकालीन अवस्था थप तीन महिना लम्ब्याउने घोषणा गरेका छन् ।
उनले फ्रान्समा इस्लामिक आतंकवादको खतरा रहेकोसमेत बताए ।
साथै, इस्लामिक अतिवादी समूह ‘आइएस’विरुद्ध सिरिया र इराकमा कारबाही जारी राख्ने उनको घोषणा थियो ।
ग्त वर्ष राजधानी प्यारिसमा आइएसले १ सय ३० जना मारिने गरी गरेको आक्रमणपछि फ्रान्सभर आलतकालीन अवस्था लागू गरिएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्