
लन्डन, असार ३१ । बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले लगातार दोस्रो जित हात पारेको छ ।
पहिलो खेलमा स्थानीय फ्रि फोरेष्टर क्लबलाई १२९ रनले हराएको नेपालले गएराति भएको दोस्रो खेलमा इन्डियन जिमखानालाई २० रनले हराएको हो । फ्रि फोरेष्टरसँग नेपालले ४० ओभरको खेल खेलेको थियो भने इन्डिन जिमखानासँग ट्वेन्टी–ट्वेन्टी खेल खेलेको थियो ।
गएराति सम्पन्न खेलमा टस हारेर ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो । जसका लागि सागर पुनले ५५ रनको योगदान गरे । सागरले ४७ बलमा एक छक्का र चार चौकाको मद्दतमा ५५ रन बनाए ।
त्यस्तै ज्ञानेन्द्र मल्लले २० बलमा ३८ रन बनाए भने कप्तान पारस खड्काले ८ बल खेल्दै १५ रन बनाए । यसैगरी राजेश पुलामीले १३, राजु रिजालले २४, सुवास खकुरेलले ६ र विनोद भण्डारीले २ रनको योगदान गरे ।
१६३ रनको लक्ष्य पछ्याएको इन्डियन जिमखानाले पुरै ओभर खेलेर सबै विकेट गुमाउँदै १४२ रन बनायो । इन्डियन जिमखानाका लागि पुनिट के मेराले सर्वाधिक ४७ रन बनाएका थिए ।
इन्डियन जिमखानालाई सस्तैमा समेट्ने क्रममा विक्रम सोव, करन केसी, शक्ति गौचन र सागर पुनले दुई÷दुई विकेट लिएका थिए । त्यस्तै कप्तान पारस खड्काले एक विकेट लिए ।
नेदरल्यान्डसँगको विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग चारवटा मैत्रीपूर्ण खेल खेल्दैछ ।
प्रतिक्रिया दिनुहोस्