
काठमाडौं, असार ३० । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत अर्को महिना हुने नेदरल्याण्ड्स विरुद्धको खेलको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले बेलायतमा छ ।
अभ्यास खेलका लागि बेलायत पुगेको नेपाली टोलीले बुधबारको पहिलो खेलमा जित हात पारेको छ । लण्डनको इन्डियन जिमखाना मैदानमा बुधबार राति सकिएको खेलमा नेपालले स्थानीय फ्रि फोरेस्टर क्रिकेट क्लबलाई १ सय २९ रनले हरायो ।
नेपालले प्रस्तुत् गरेको २ सय ३६ रनको लक्ष्य पछ्याएको फ्रि फोरेस्टरले २९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन मात्रै बनाउन सक्यो । फ्रि फोरेस्टरलाई सस्तैमा समेट्न नेपालका बिक्रम सोबले चार विकेट लिँदा सन्दिप लामिछानेले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो ।
सुरुवाती व्याट्सम्यान अनिल मण्डल सस्तैमा आउट भए पनि अर्का सुरुवाती व्याट्सम्यान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले अर्धशतकीय ईनिङ खेल्दै नेपाललाई सम्मानजनक योगफलतर्फ डोहोर्याएका थिए ।
नेपालका लागि मल्लले ७३ रन तथा भेषावकरले ५० रन जोडे । यसैगरी पारस खड्काले ४० रन जोड्दा सागर पुनले २१ रनको योगदान दिए ।
बेलायत भ्रमणमा रहेको नेपालले त्यहाँका विभिन्न क्लबसँग चार वटा खेल खेल्ने छ । साउन ४ गते नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीबीच वेलायतको लड्र्स मैदानमा खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्