९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बेलायतमा टेरेसा मे बनिन् नयाँ प्रधानमन्त्री, विश्वकै ‘साहसी’ बन्ने अठोट


0
Shares

काठमाडौं, असार ३० । टेरेसा मे बेलायतको नयाँ प्रधानमन्त्री बनेकी छन् । डेबिड क्यामरुनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कन्जरभेटिभ पार्टीकी नेतृ टेरेसा नयाँ प्रधानमन्त्री बनेकी हुन् ।

बेलायत युरोपियन युनियनबाट बाहिरिने पक्षमा मतदान भएपछि क्यामरुनले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री बनेलगत्तै टेरेसाले इयुबाट बाहिरिएपछि बेलायतले विश्वमा आफ्नो छुट्टै र साहसी भूमिका निर्वाह गर्ने बताइन् ।

उनले आफ्नो सरकार केही विशेष व्यक्तिका लागि नभएर सबै नागरिकका लागि भएको बताइन् ।

प्रधानमन्त्री बनेलगत्तै टेरेसाले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । इयुबाट बाहिरिने पक्षमा प्रचारप्रसार गरेका बोरिस जोनसन विदेश मन्त्रीमा नियुक्त भएका छन् ।

क्यामरुनको सरकारमा विदेश मन्त्री रहेका फिलिप ह्यामण्ड अर्थ मन्त्री बनेका छन् । यस्तै पूर्व उर्जा मन्त्री एम्बर रुड्ड गृहमन्त्री बनेका छन् । यस्तै डेबिस डेविस ब्रेक्सिट मन्त्री बनेका छन् ।

५९ वर्षीया प्रधानमन्त्री टेरेसा मे बेलायतको प्रधानमन्त्री बन्ने दोस्रो महिला हुन् । यसअघि मारग्रेट थ्याचर बेलायतको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

टेरेसा सन् १९९७ देखि लगातार बेलायती संसद्को सदस्य रहेकी थिइन् । टेरेसा प्रधानमन्त्री बन्नुअघि क्यामरुले महारानीसमक्ष राजीनामा बुझाएका थिए । (एजेन्सी)