
पेरिस, असार २७ । युरोकप २०१६ को फाइनल खेलमा पोर्चुगलले विजय हात पारेपछि भएको हिंसामा कम्तीमा ४० जनालाई पक्राउ गरिएको छ ।
पक्राउ गरिएकालाई प्रहरी थुनामा राखिएको बताइएको छ । फाइनलमा पोर्चुगलले जितेपछि फ्रान्सका समर्थकहरुले यस्तो हिंसा मच्चाएका थिए ।
ती समर्थकहरुले ‘आइफल टावर’का अधिकारीहरुमाथि सिसाका बोतल तथा मिनरल वाटरका बोतलहरु फालेका थिए । त्यसक्रममा प्रहरीले पानीको फोहरा र टियर ग्यास हानेको थियो ।
पोर्चुगलले जितेपछि सो खेल मैदानमा नै पोर्चुगलका समर्थकहरुको भीड लागेको थियो ।
उक्त खेल मैदानमा ९० हजार जना अट्ने क्षमता रहेको र सो खेल मैदान भरिएपछि उनीहरुले आइफल टावरतर्फ आक्रमण गर्न थालेका थिए ।
ती प्रदर्शनकारीलाई हटाउनेक्रममा प्रहरीले टियर ग्यास फाल्न थालेपछि उनीहरुले पनि प्रहरीमाथि विभिन्न वस्तु फाल्न थालेका थिए ।
त्यसक्रममा हिंसा भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको र उनीहरुले पक्राउ गरी ती प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
यसअघि पनि फ्रान्समा अघिल्लो वर्ष भएका आतंककारी हमलाका कारण दशौं हजार मानिस जम्मा हुने यस युरोकप फुटबलका लागि शान्ति–सुरक्षाको विशेष प्रबन्ध गरिएको थियो ।
ठूलो संख्याका सुरक्षाकर्मी यहाँ तैनाथ गरिएको थियो । जसका कारण पनि कुनै प्रकारको हिंसा हुन पाएन ।
तर, खेल सकिएपछि भने फ्रान्सका समर्थकहरुले खेलप्रति असहमति जनाउँदै सामान्य झडप गर्ने र पेरिसका केही स्थानमा हमला पनि गर्न खोजेका थिए । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्