९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कश्मीर जलिरहेछ, केन्यामा आदर्शका कुरा गर्दैछन् मोदी


0
Shares

कश्मीर, असार २७ । भारत प्रशासित जम्मु कश्मीरमा एउटा कथित मुठभेडमा उग्रवादी नेता बुरहान वानीको मारिएपछि व्यापक हिंस्रक प्रदर्शन भइरहेको छ । यस क्रममा २३ भन्दा बढी नागरिकको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् । मृतकमा सुरक्षाकर्मी समेत छन् ।

सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा तीन सयभन्दा बढी घाइते भएका छन् । श्रीनगरका विभिन्न ११ स्थानमा कर्फ्यु लगाइएको छ ।

कर्फ्युका बाबजुद प्रदर्शनकारीहरु सडकमा निस्किएर सुरक्षाकर्मीमाथि ढुंगामुढा गरिरहेका छन् । भारतका वरिष्ठ पत्रकार बशीर मन्जरका अनुसार कश्मीरमा भइरहेको विरोध प्रदर्शनले स्थानीयमा दबेको आक्रोस अभिव्यक्त गरेको छ । कश्मीर मुद्दाका बारेमा लामो समयसम्म केन्द्र सरकार या राज्य सरकारबाट चासो नदेखाइएको कारण स्थानीय यति धेरै आक्रोसित भएका हुन सक्ने उनको ठहर छ ।

प्रदेश सरकारले शान्ति कायम राख्न स्थानीयलाई अपील गरेको छ । तर स्थानीयमा यस्तो अपीलको खासै प्रभाव परेको देखिदैंन ।

सुरक्षा कारवाहीमा शुक्रबार बुरहान मारिएपछि हिंस्रक प्रदर्शन सुरु भएको हो । मुस्लिम बाहुल्य सो क्षेत्रमा मुस्लिमहरुको पवित्र पर्व इदका कारण घर–घरमा पर्याप्त मात्रामा खाद्यान्नको जोहो भएका कारण अहिलेसम्म जनजीवनमा खासै प्रभाव परेको छैन । तर खाद्यान्न भण्डार सकिदैं गएपछि हिंसाका कारण पर्ने प्रभावले दैनिक जीवनलाई पिरोल्न सक्ने स्थानीय विज्ञहरुको भनाइ छ ।

कश्मीरको अवस्था तनावपूर्ण रहेकै समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने केन्यामा आदर्शका कुरा गरिरहेका छन् । नैरोवीमा भारतीय समुदायलाई सम्बोधन गर्दै उनले आतंकवादको सामना गर्न मानवतामा विश्वास गर्ने सबै शक्तिहरु एकजुट हुनुपर्ने खाँचो औंल्याए । (एजेन्सी)