
लखनउ, असार २७ । भारतको उत्तर प्रदेश राज्यस्थित जौनपुर कारागारमा आठ महिनादेखि बन्दी जीवन बिताउँदै आएकी एक महिला गर्भवती भएपछि जेल प्रशासन तनावमा परेको छ ।
स्रोतका अनुसार ती महिलालाई जेलमा ल्याउदा गरिएको स्वास्थ्य परीक्षणमा उनी गर्भवती रहेको पाइएको थिएन । जेलमै रहेको अवस्थामा गर्भवती भएको पाइएपछि उनलाई गर्भपतनका लागि दबाब दिन थालिएको तथ्य केही भारतीय संचारमाध्यमले उजागर गरेका छन् ।
सन् २०१५ नोभेम्बरमा ती युवतीलाई हत्याको मुद्दामा जेलमा ल्याइएको थियो । उनीसँगै जेलमा अन्य ८० महिला छन् ।
केही महिनादेखि उनी नियमित स्वास्थ्य परीक्षण गराउन अस्वीकार गर्दै आएको जेल प्रशासनको भनाइ छ । शंका लागेपछि जेल प्रशासनले हालै उनको स्वास्थ्य परीक्षण गर्दा उनी गर्भवती रहेको रहस्य खुलेको हो ।
जेल अधिकारी र जिल्ला प्रशासनले यसबारे थप अनुसन्धान गरिरहेको बताइएको छ । जेलमै बन्दी रहेको अवस्थामा महिला गर्भवती भएकोबारे अदालतलाई समेत सूचित गरिएको अधिकारीहरुको भनाइ छ ।
उनी कसरी गर्भवती भइन् भन्नेबारे जेल प्रशासनले औपचारिक जानकारी दिएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्