१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘विश्वकै कान्छो देश’ दक्षिणी सुडानमा हिंसा चर्कियो, गृहयुद्धको संकेत


0
Shares

काठमाडौं, असार २७ । विश्वको सबैभन्दा कान्छो मुलुक दक्षिणी सुडानमा सन् २०१३ मा गृहयुद्ध सुरु हुनुअघिका दिनको जस्तै संघर्ष चर्किएपछि अस्थिर बनेको छ ।

प्रतिद्वन्द्वी समूहबीच संघर्ष चर्र्किएपछि उपराष्ट्रपति रीक मचारका सैन्य प्रवक्ताले मुलुक युद्धमा फर्किएको बताएका छन् । कर्णेल विलियम गटिराथले राष्ट्रपति साल्भा किर र उपराष्ट्रपति रिक मचार समर्थित सेना फेरि लडाई सुरु भएको बताएका हुन् ।

उनले राजधानी जुबास्थित उपराष्ट्रपति मचारको निवास र मुख्य सैनिक कार्यालयमा आक्रमण गरिएको बताए । यस क्रममा दुवै तर्फका सयौं सेना मारिएका छन् ।

सूचना मन्त्री माइकल माकुईले भने युद्धको स्थितिमा पुगेको रिपोर्ट बेइमानी मात्र भएको जिकिर गरेका छन् । दक्षिणी सुडानस्थित संयुक्त राष्ट्रसंघको मिसनले आफ्नो कार्यालयको कम्पाण्डमा सयौंले शरणको माग गर्दै दुबै पक्षका नेतालाई आफ्नो सेनालाई संयमता अपनाउन आग्रह गरेको जनाएको छ ।

राष्ट्रसंघका महासचिव बान कि मुनले आक्रमणको निन्दा गर्नु भएको छ । दक्षिण सुडानका विषयमा छलफल गर्न राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठक पनि बस्दैछ ।

सुडानबाट अलग भएको पाँच बर्ष पुगेको उपलक्ष्यमा समारोह गर्न लागिएका बेला हिंसा भड्किएको हो । विश्वकै कान्छो मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिका समर्थकबीच हिंसा भड्कँदा शुक्रवार मात्रै १ सय ५० भन्दा बढी मारिएका थिए ।

त्यहाँ २० महिना लामो हिंसा रोकेर शान्ति स्थापना गर्न दुई नेताबीच सन् २०१५ मा सहमति भएपनि पूर्ण रुपमा लागू हुन सकेको छैन ।

शान्ति सम्झौताप्रति राष्ट्रपति गम्भीर नभएको उपराष्ट्रपति पक्षको आरोप छ । पाँच वर्षअघि उत्तरी सुडानबाट अलग्गिएर दक्षिणी सुडान बन्नुअघिको गृहयुद्धमा दशौं हजार मानिस मारिनुका साथै लाखौं विस्थापित भएका थिए । (एजेन्सी)