२१ चैत्र २०८१, बिहिबार | Fri Apr 4 2025


धरहराको इतिहास


13
Shares

नरेन्द्रराज प्रसाई –

पहिला धरहरा दुई वटा थिए । दुई धरहरामध्ये जनरल भीमसेन थापा र ललितत्रिपुरसुन्दरीले एउटा, एउटा बनाएका थिए ।ललितत्रिपुरसुन्दरीले बनाएको एक वर्षअघि नै अर्थात् १८८१ सालमा जनरल भीमसेन थापाले आफ्नै दरबारछेउ धरहरा बनाएका थिए । त्यसपछि ललितत्रिपुरसुन्दरीले भीमसेन थापाको एकल धरहरालाई जोडी बाँधिदिइन् । ललितत्रिपुरसुन्दरीले चाहिं १८८२ सालमा गजुरसहितको धरहरा बनाएकी थिइन् ।

तत्कालीन नेपालमा जोरधरहराका कारण त्यो ठाउँ प्रसिद्ध थियो । ललितत्रिपुरसुन्दरीले बनाएको धरहराको चाहिं अभिलेख यस प्रकार छ, स्वस्तिश्री सम्वत् १८८२ साल मिति चैत्र सुदि १२ रोज ४ वैशाख महिनाका दिन ९ जांदा श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्ललित त्रिपुरसुन्दरी देवीले यो धरहरा बनाउनु भै तैयार गरी गजुर चढाउनुभयाको हो ।

ललितत्रिपुरसुन्दरी र भीमसेन थापाका दुवै धरहरामा संवत् १८९० को भूकम्प र १९१३ को बज्रले क्षति पुगेको थियो । दुवै धरहराको संवत् १९२६ मा जीर्णोद्धार गरिएको थियो । साथै संवत् १९९० को महाभूकम्पबाट फेरि दुवै धरहरा भत्किएका थिए । त्यस घडी भीमसेन थापाको धरहरा जगैबाट गर्ल्यामगुर्लुम भत्केको थियो । साथै ललितत्रिपुरसुन्दरीले बनाएको धरहराचाहिँ साढे चार तला सग्लो रहेको तथ्य त्यति बेला खिचेको तस्बिरमा देखिन्छ । उक्त तस्बिरमा एकातिरको मात्रै दृश्य देखिने भएकाले धरहराको चर्केको अरू भाग नदेखिएको पनि हुन सक्छ किनभने धरहराको मूल दैलाको सिरानमा राखिएको धातुको अभिलेखमा चाहिं त्यो धरहरा दुई तलासम्म पुरानो बाँकी भएकोु लेखिएको छ ।

जीर्णोद्धारपछिको धरहराको अभिलेखको पूर्ण पाठ यस प्रकारको छः संवत् १८८२ साल चैत सुदी १२ रोज ४ मा श्रीश्रीश्रीमल्ललित त्रिपुरसुन्दरीदेवीबाट बनाइबक्सेको यो धरहरा वि.स.१९९० साल माघ २ गते ९माघ कृष्ण ३०० सोमबारको भीषण भूकम्पले भत्कि विग्रि दुई तलासम्म पुरानो बाँकी भएकोमा अरु तला उर्ठाई बनाई श्री ३ महाराज जुद्धशमशेर जङ्गबहादुर राणाबाट वि.स.१९९२ सालमा जीर्णोद्धार गरिबक्सिएको हो ।

नौ तले धरहराको सातौं तलामा बार्दली रहेको छ । जमीनदेखि नवौं तलासम्म २३८ वटा खुड्किला रहेको धरहराको माथिल्लो तलामा शिवलिङ्गको स्थापना गरिएको छ । धरहराको उचाइ २०३ फिट छ । तर जगदीशचन्द्र रेग्मीले धरहराको उचाइलाई यो २५० फीटजति अग्लो छ भनिन्छु लेखेका छन् भने गौतमबज्र बज्राचार्यले ९० हातु उल्लेख गरेका छन् ।

त्यति बेलाका काठमाडौंका जनतालाई महत्त्वपूर्ण सूचना सम्प्रेषण गर्नुपर्दा भने धरहराका टुप्पाबाट बिगुल बजाइने अथवा माइकबाट कराइने गरिन्थ्यो । पछिपछि यो ठाउँ सैनिकका लागि पनि उपयोगी हुन थाल्यो । साथै धरहराबाटै काठमाडौं उपत्यकाको दृश्यावलोकनको परिपाटि पनि रहँदै आएको छ ।

जनश्रुति अनुसार धरहरा जोस, जाँगर र उत्साहको प्रतीक मानिन्छ । धरहराको आकार, प्रकार र ढाँचाका कारण यसलाई हिन्दू, इसाई र मुसलमान धर्मको मिश्रित स्वरूप हो पनि भनिन्छ ।