
काठमाडौं, असार २५ । इङ्गलिस प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीले नाइजेरियाका खेलाडी अहमद मुसालाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ ।
लिसेस्टर सिटीले २३ वर्षका मुसालाई सिएसएकए मस्कोबाट एक करोड ६० लाख पाउण्ड अर्थात् दुई अर्ब २३ करोड रुपैयाँमा अनुबन्ध गरेको हो ।
लिसेस्टरले कुनै पनि खेलाडीलाई यती धेरै रकममा अनुबन्ध गरेको यो पहिलो पटक हो । मुसाले लिसेस्टर सिटीसँग चार वर्षको सम्झौता गरेका छन् ।
मुसाले सिएसकेएलाई रुसी लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनलाई अनुबन्ध गर्न साउथह्यामप्टन, एभर्टन तथा वेष्ट ह्याम पनि इच्छुक थिए ।
मुसा प्रिमियर लिग उपाधिपछि लिसेस्टरकले अनुबन्ध गरेका चौथा खेलाडी हुन् । यसअघि लिसेस्टरले गोलरक्षक रोन रोबर्ट जिलर, डिफेन्डर लुइस हर्नान्डेज र मिडफिल्डर नामपालेस मेन्डीलाई अनुबन्ध गरिसकेको छ ।
मुसाले सन् २०१२ मा सिएसकेए गएपछि खेलेका एक सय ६८ खेलमा ५४ गोल गरेका छन् । यस्तै राष्ट्रिय टिमबाट सन् २०१० मा डेब्यु गरेका मुसाले नाइजेरियाबाट ५८ खेलमा ११ गोल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्