१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


पूर्वसभासद हकको हत्या गर्ने पत्नी र छोरीलाई जन्मकैद


0
Shares

राजविराज, असार २२ । विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ५२ वर्षीया नुरजहाँ र २१ वर्षीया रुबेदालाई जन्मकैदको फैसला गरेको हो ।

साथै, मुख्य आरोपित सिरहा जिल्ला चतरी गाविस–६ घर भइ लहान नगरपालिका–५ बस्ने ४० वर्षीय अब्दुल रउफलाईसमेत सर्वस्वसहित जन्मकैद गरेको अदालतले जनाएको छ ।

सप्तरीको कल्याणपुर गाविस–२ निवासी ५५ वर्षीय हकको हत्या योजनाकार छोरी रुबेदा र रउफलाई २०७० जेठ २३ गते तथा नुरजहाँलाई २०७० जेठ २४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले पक्राउ गरेको थियो ।

हत्याका मुख्य योजनाकार र संलग्न रुबेदाका प्रेमी भारतीय नागरिक भइ लहान नपा–५ मा बसी झारफुकको काम गर्ने ३९ वर्षीय जमिरुल शेख र सिरहा चतरी गाविस–२ का ३४ वर्षीय एनुल शेख भने फरार रहेको प्रहरीले जनाएको छ ।

रुबेदा र जमिरको प्रेमसम्बन्धमा आमा नुरजहाँको सहमति रहेपनि पूर्वसभासद एवं रुबेदाका बुबा हकको असहमतिमा २०६९ फागुनमा रौतहटमा गइ विवाह गरेको र सो विवाहलाई हकले अस्वीकार गर्दै आएकाले प्रेममा बाधक बनेको भन्दै हककी पत्नी नुरजहाँ, छोरी रुबेदा र छोरीका प्रेमी जमिरुलकै योजनामा हत्या भएको थियो ।

वि.सं २०७० जेठ ६ गते उनीहरुले राति पूर्वसभासद हक सुतेको कल्यानपुर–२ स्थित हुमा आयल ट्रेडर्स पेट्रोल पम्पमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । रासस