
काठमाडौं लगायत मुलुकभरमा निर्माण गरिएका आरसीसी घर या अन्य संरचना अत्यन्तै कमसल सामाग्री प्रगोगबाट निर्माण गरिएको दावी इन्जिनियर दिनेश चौधरीले गर्दै आएका छन् । उनले नेपालमा आरसीसी निर्माणमा देखिएको चर्को लापरवाहीले अकल्पनीय क्षती बेहोर्नु पर्ने बताएका छन् । अहिले प्रयोग भएका डण्डी , सिमेण्ट , बालुवा र गिटी पूर्णरुपमा कमसल रहेको उनको दावी छ । घर या आरसीसी संरचना कसरी बनाउने त भन्ने विषयमा उनी संग गरिएको कुराकानीको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।
तपाईले काठमाडौं लगायतका सहरबजारमा निर्माण गरिएका भवन संरचना अत्यन्तै कमजोर भएको दावी गर्दै आउनु भएको थियो । ०७२ बैशाखको भूकम्प पछि त ,झन कमजोर भए होलान हैन ?
मैले २० – २५ वर्ष अघि देखि नेपालले भूकम्पको ठूलो क्षती बेहोर्नुे पर्छ भन्ने दावी गर्दै आएको थिए । अहिले भूकम्पबाट धेरै क्षती नभएको जस्तो देखिएको छ । यो भ्रम मात्र हो । भूकम्प आएका जिल्लाहरुका धेरै जसो भवनहरु कुनै न कुनै किसिमबाट चर्किसकेका छन् । आरसीसीको कुनै भाग चर्कनु भनेको डन्डीमा खिया लाग्नु सुरु हुनु हो । खिया सुरु भए पछि एउटा सिंगो घरको आयु सकिनु हो । आरसीसी गरिएका निर्माणहरुका लागि खिया क्यान्सरजस्तै हो । यो कुरा न सरकारले बुझेको छ न त घर धनीेले ।
यति धेरै आधुनिक शैलीमा बनाइएका संरचनाहरु किन , यति कमजोर भए होलान त ?
कुशल निर्माणको लागि असल निर्माण सामग्री जस्तै बालुवा, डन्डी,सिमेन्ट, गिटी ,पानी आदिको जरुरी पर्दछ र कुशल मसला तैयार गर्ने प्रविधिकोे जरुरी पर्दछ तर यहाँ खिया लागेका डण्डी, माटो मिसिएका बालुवा, ठूला आकार नमिलेका गिटी , आदिका प्रयोग गरिन्छ साथै हचुवाको भरमा मसला मिलाउने एकै चोटी बालुवा, सिमेन्ट ,गिटी, पानी आदि हालेर मिलाउने तरिका कुशल मसलाका सिद्धान्त विपरित हुन जान्छ ।
सिमेन्ट , गिटी , वालुवा र डण्डी कस्ता हुनु पर्ने हो ?
सिमेन्ट ताजा र गुणस्तरयुक्त हुनुपर्छ ।सिमेन्टको शक्ति प्रत्येक दिन घट्ने भएका कारण उत्पादन पछि छिटो प्रयोग गर्नुपर्छ । गिटीका सन्दर्भमा ४.७५ देखि २० एमएम सम्मका विभिन्न आकारका गिटी हुनुपर्दछ । गिटी फोरेको हुनु आश्यक छ । गिटी एङ्गुलर आकारको हुनु पर्दछ । गिटीमा माटो मिसिनु हुदैन । गिटी छानो भएको टहरोमा सुरक्षित राखिएको सफा हुनुपर्दछ ।
वालुवा १÷१६ एमएम देखि २ एमएम सम्मको हुनु पर्दछ । सफा बालुवा हुनु पर्दछ । कुनै किसिमको अर्गेनिक झारपात माटो मिसिएको हुनु हुदैन । सफा बालुवा छानो सहितको टहरोमा राखिएको हुनुपर्दछ । अहिले प्रयोग भएका डण्डी , सिमेन्ट , बालुवा र गिटी पूर्णरुपमा कमसल रहेका छन् । मसला बनाएको ३० मिनेट भित्रमा प्रयोग गर्नुपर्छ तर यहाँ त दिनभरका लागि मसला एकै पटक बनाउने चलन छ । जुन मसला काम लाग्दैन ।
पानीको गुणस्तर कस्तो हुनु पर्छ ?
राम्रो कुरा उठाउनु भयो ।मसला बनाउदा जस्तोसुकै पानी प्रयोग गर्ने चलन छ । पानी राम्रो भएन भने पनि संरचना बलियो बन्न सक्दैन । मान्छेले पिउन मिल्ने पानी प्रयोग गर्नु पर्छ ।
नेपालमा घर या अन्य संरचना बनाउदा जुन किसिमबाट मसला बनानउने गरिन्छ ,त्यो ठीक छ ?
विलकुल ठीक छैन । अहिले मुलुकभर बनेका ९९ प्रतिशत निर्माण अबैज्ञानिक छन् । यी घर त भाग्यले ठडिएका मात्र हुन । ७२ बैशाख जत्रोे भूकम्म पुन आयो भने ९९ प्रतिशत घरहरु लड्छन् । नेपालका घरबनाउने मिश्त्री हुन या इन्जिनियर या घरधनी कसैलाई पनि बैज्ञानिक ढंगले कार्य गर्नुपर्छ भन्ने चेतना नै छैन ।
मसला बनाउँदा सुख्खा बालुवा र सिमेण्ट एक रंगको नहुञ्जेल सम्म राम्रोसंग फिट्नु पर्छ । यस पछि मात्र गिट्टी मिसाउनु पर्दछ । अनि सफा पिउन मिल्ने आवश्यक मात्राको पानी हाली मसला तयार गर्नुपर्छ । बढी पानी भएको खण्डमा पानी उडेर जान्छ र संरचनालाई छिद्रमय बनाउँछ । अनि डण्डीमा खिया लाग्न थाल्द छ ।
डण्डी कस्तो हुनु पर्छ ?
डण्डी खिया रहित गुणस्तरीय हुनुपर्छ । नेपालमा खिया नलागेको डण्डी किन्नै पाईदैन । खुला ठाँउमा माटो हिलो र पानीमा राखिएको डण्डी प्रयोग गर्नु कुनै पनि संरचनाका लागि क्यान्सरजस्तै हो । अहिले नेपालमा बनेका या बनाउँदै गिरएका संरचना काल नै हुन् ।
तपाईले भनेको जस्तो गरि नेपालमा भवन या संरचना निर्माण गर्नु सम्भव छ त ?
एकदम सम्भव छ । त्यसका लागि सबै निकाय ईमान्दार हुनु पर्दछ ।जसका लागि मोडेल इन्जिनियरिङ्ग मेटेरियल मार्केटको व्यवस्था हुनुपर्छ । मोडेल कन्सट्रक्शनको व्यवस्था गर्नु पर्छ । र विदेशी प्राविधिक विद्धान सहितको अनुगमन टोली गठन गरिनु आवश्यक छ । नेपालका उनान्नसय प्रतिशत घर संरचना अबैज्ञानिक छन् ।यसैले अव सबै इन्जिनियरले आफुलाई कुशल इन्जिनियरिङ तर्फ लान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्