
काठमाडौं, असार १९ । अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट सम्भावित राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनलाई संघीय अनुसन्धान ब्यूरो एफबीआईले सोधपुछ गरेको छ ।
एफबीआईले उनी विदेशमन्त्री हुँदा आफ्नो आधिकारिक ईमेल पठाउन निजी सर्वरको प्रयोग गरेको सम्बन्धमा सोधपुछ गरेको हो ।
एफबीआईले ईमेल सन्देशमा क्लिन्टनले गोपनीय जानकारी पठाएको विषयमा जाँच गरिरहेको छ । क्लिन्टनले भने यसलाई अस्वीकार गर्दै आएकी छिन् ।
अमेरिकी विदेश मन्त्रालयको अनुसन्धानमा भने क्लिन्टन र विदेशमन्त्री रहिसकेका अरु धेरै व्यक्तिले ईमेल सुरक्षामा पूरा ध्यान नदिएको निष्कर्ष निकालेको थियो ।
क्लिन्टनलाई ईमेल प्रकरणले राष्ट्रपतीय निर्वाचनमा समेत केही असर पार्न सक्ने अनुमान गरिएको छ ।
रिपब्लिकनका तर्फबाट उम्मेदवारीको दौडमा रहेका डोनाल्ड ट्रम्पले क्लिन्टनविरुद्ध यसलगायतका विषयमा खरो टिप्पणी गरिरहेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्