
काठमाडौं, असार १८ । बार्सिलोनाका स्टार स्ट्राइकर नेइमार अरु पाँच वर्ष बार्सामै रहने भएका छन् । उनले थप पाँच वर्षको नयाँ सम्झौता गरेको क्लबले जनाएको छ ।
नयाँ सम्झौतासँगै ब्राजिलका कप्तान नेइमारलाई बार्सिलोनाबाट किन्न चाहनेले दुई सय ५० मिलियन अर्थात् ३० अर्ब ४८ लाख नेपाली रुपैयाँ तिर्नुपर्ने भएको छ ।
अनुबन्धको पहिलो वर्षमै किन्न चाहनेले दुई सय मिलियन युरो तथा दोस्रो वर्ष किन्न चाहनेले दुई सय २२ मिलियन युरो तिर्नु पर्ने शर्त राखिएको छ । त्यसपछि किन्न चाहनेले दुई सय ५० मिलियन तिर्नु पर्नेछ ।
नेइमारले सन् २०२१ सम्मका लागि सम्झौता गरेका हुन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसीले २४ वर्षका नेइमारलाई अनुबन्ध गर्न चाहेका थिए ।
सन् २०१३ मा बार्सिलोनामा अनुबन्ध भएपछि अहिलेसम्म नेइमारले ला लिगाका ९३ खेलमा ५५ गोल गरेका छन् ।
नेइमारले ब्राजिलको राष्ट्रिय टिमबाट ७० खेलमा ४६ गोल गरेका छन् । नाउ क्याम्प आएपछि नेइमारले दुई ला लिगा, दुई कोपा डेल रे तथा एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्