
प्रतीक लामिछाने/उत्तम मानन्धर (इमेज)
काठमाडौं, असार १७ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले देशमा ठूलो जनधनको क्षति भयो ।
भूकम्पका कारण देशका विभिन्न क्षेत्रमा जस्तै भूमापनसँग सम्बन्धित ‘नियन्त्रण बिन्दू’हरुलाई पनि ठूलो क्षति पुर्याएको छ ।
तपाइँलाई थाहा छ ? तपाइँ–हामी बसेको भूगोल, यहाँ रहेको हिमाल अनि पहाडका नापनक्सा गर्ने काम कसरी हुन्छ ?
पृथ्वी र गगनचुम्बी पहाडहरुमा फित्ता राखेर यहाँको भूगोलको वास्तविक नक्सा उतार्ने, लम्बाइ–चौडाइ नाप्ने तथा उचाइ र अन्य भू–गर्भसम्बन्धी विवरण संकलन गर्नु असम्भव विषय हो ।
यही असम्भव विषयलाई सम्भव बनाउन विश्वले भू–मापनसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता अपनाउँदछ ।
नेपालमा भूमि सुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गतको नापी विभाग र खगोल तथा भूमापन महाशाखाले यसको नापजाँचको काम गदर्छन् ।
देशका ७५ ओटै जिल्लाका विभिन्न ठाउँमा महाशाखाले करिब साढे २ लाख ठाउँमा नियन्त्रण बिन्दू राखेर यसैको आधारमा देशको नक्सा उतार्नेदेखि अन्य विभिन्न विकास–निर्माणका काम अघि बढाउँदै आएको छ ।
तर, गत वर्ष गएको भूकम्पले यी सबै नियन्त्रण बिन्दूलाई खलबल्याइदिएको छ ।
सुन्दा सामान्य लाग्ने यो विषयले सिँगो भूगोल तथा अन्य विकास निर्माणमा अत्यन्तै ठूलो प्रभाव पारेको महाशाखाका प्रमुख निरज मानन्धर बताउँछन् ।
भूकम्पप्रभावित जिल्लाहरुमा रहेका यी बिन्दूहरु निकै तल–माथि परेका छन् भने भूकम्पको धक्कामात्रै महसुस भएका जिल्लाहरुमा पनि यसले असर छाडेको छ ।
यसको असर के हुनसक्छ भन्ने जान्न एउटा उदाहरण हेरौं । कुनै बडेमानका पहाडलाई छेडेर भित्रभित्रै सुरुङ खनेर कुनै अर्को ठाउँमा निकाल्नुपर्यो भने यो ठाउँमा डोरी वा फित्ता होइन यही नियन्त्रण बिन्दूहरुलाई आधार मानेर नक्सा तथा अन्य नापजापको काम अघि बढाइन्छ ।
तर, यी बिन्दूहरु तल–माथि परेपछि जुन ठाउँमा सुरुङ खनिन्छ र जुन ठाउँमा पुर्याउने लक्ष्य लिइन्छ, त्यो नै असफल हुने विज्ञहरु बताउँछन् ।
यसको असर विशेष गरी नक्सा बनाउन, जलविद्युत् परियोजनाहरु निर्माण तथा अन्य विभिन्न निर्माणका कामसँग प्रत्यक्षरुपमा जोडिएको नापी विभागका महानिर्देशक कृष्णराज बिसी बताउँछन् । एक रिपोर्ट (विस्तत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्