१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


आफैंले जन्माएको शिशु हत्या गरेको आरोपमा महिला पक्राउ


0
Shares

भोजपुर, असार १६ । आफैंले जन्म दिएको शिशु हत्या गरेको आरोपमा भोजपुर जिल्ला दोभाने गाविसकी एक महिला पक्राउ परेकी छिन् ।

अवैध सम्बन्धबाट जन्मिएको शिशुको घाँटी थिचेर हत्या गरेको आरोपमा दोभाने–२ थुम्लुङकी ४० वर्षीया मैयाँ तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

पाँच वर्षअघि श्रीमानको मृत्यु भएर एकल जीवन बिताउँदै आएकी मैयाँले अवैध गर्भधारण गरी जन्मेको नवजात शिशुलाई असार ९ गते हत्या गरेकी थिइन् ।

हत्या गरेपछि गाईलाई दिन राखेको घाँसको थ्रुपोमा उनकी छोरीले मृत अवस्थामा नवजात शिशुको लास भेटेकी थिइन् । मृत अवस्थामा नवजात शिशुको लास भेटेपछि छोरीले गाउँलेलाई खबर गरेकी थिइन् ।

मैयाँले बच्चा जन्माएपछि मुख थुनेर हत्या गरेको प्रहरीसँग स्वीकार गरेकी छिन् । कसको गर्भ बोकेको हो भनेर आरोपीले यकिन गर्न नसकेको प्रहरीले बताएको छ ।

मृतक नवजात शिशुको शवपरीक्षण जिल्ला अस्पताल भोजपुरमा भएको छ । अनुसन्धानपछि प्रहरीले मैयाँलाई घरैबाट पक्राउ गरेको हो । आरोपी महिलालाई कानुनअनुसार कारबाही प्रक्रिया थालिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पञ्चलाल गोलेले बताए । (रासस)