१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


यी हुन् मेसी, ‘महान्’ मेसीको निरस बिदाइ (फोटोफिचरसहित)


0
Shares

महेश काफ्ले (इमेज)
काठमाडौं, असार १३ । लगातार तीन ठूला प्रतियोगिताको फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएका छन् ।

सोमबार बिहान सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा चिलीविरुद्ध ‘टाइब्रेकर’मा मेसी र लुकास बिग्लियाले पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिना पराजित भएसँगै मेसीले संन्यासको घोषणा गरेका हुन् ।

वर्तमान विश्व फुटबलमा पोचुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीमध्ये को उत्कृष्ट ? भनेर बेला–बेला बहस हुने गरेको छ ।

रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने रोनाल्डो र बार्सिलोनाका सुपरस्टार मेसीले क्लब फुटबलमा र व्यक्तिगतरुपमा प्राप्त गर्न बाँकी उपलब्धि सायदै होला ।

तर, यी दुबै खेलाडीलाई सधै लाग्ने गरेको आरोप हो–क्लबका लागि जस्तो योगदान राष्ट्रका लागि गर्न नसक्नु र राष्ट्रलाई आफ्नो नेतृत्वमा कुनै उपाधि जिताउन नसक्नु ।

धेरै फुटबल पन्डितहरुको दाबी मान्ने हो भने मेसीले अर्जेन्टिनाका लागि उपाधि जित्नसके उनी अर्जेन्टाइन ‘लेजेन्ड’ फुटबलर म्याराडोनाभन्दा उत्कृष्ट ठहरिने छन् ।

अर्जेन्टिाइन कप्तान लियोनल मेसीलाई पुनः एकपटक राष्ट्रलाई अन्तर्राष्ट्रिय उपाधि दिलाउँदै आलोचकको मुख थुन्ने र केही हदसम्म क्रिस्टियानो रोनाल्डोभन्दा उत्कृष्ट ठहरिने अवसर थियो ।

त्यसो त दुई वर्षअधि ब्राजिलमा सम्पन्न विश्वकप फुटबल र अघिल्लो वर्ष चिलीमा आयोजना भएको कोपा अमेरिका फुटबलमा पनि मेसीसामु यस्तो अवसर थियो ।

तर, विश्वकप फुटबलको फाइनलमा जर्मनीसँग र कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग अर्जेन्टिना पराजित भएसँगै मेसीले सुनौलो अवसर गुमाएका थिए ।

कोपा अमेरिका आयोजनाको १०० वर्ष पुगेको अवसरमा अमेरिकामा आयोजना गरिएको योपटकको प्रतियोगितामा मेसीसामु पुनः सुनौलो अवसर थियो । तर, फेरि पनी उनी चुक्न पुगे ।

पेनाल्टी सुटआउटमा मेसी र बिग्लियाले गोल गर्न नसक्दा अर्जेन्टिना फेरि चिलीसँग टाइब्रेकरमा ४–३ ले पराजित भयो ।

पछिल्लो तीन वर्षमा लगातार तीन ठूला प्रतियोगिताको फाइनल पुगेर पनि उपाधि जित्न नसकेपछि बिछिप्त बनेका मेसीले अन्ततः अन्तर्राष्ट्रिय खेलजीवन बाट संन्यासको घोषणा गरेका छन् ।

मेसीले राष्ट्रका लागि आफूले सकेजति गरेको भन्दै अब अर्जेन्टिनाको जर्सीमा नदेखिने घोषणा गरेका हुन् ।

पाँचपटक विश्वको सर्वोत्कृष्ट खेलाडी बन्दै फिफा ‘बलोन डे’अर’ अवार्ड जितेका २९ वर्षीय मेसीले अर्जेन्टिनाको जर्सी फुकाल्ने निर्णय गरेसँगै विश्व फुटबलजगत् अचम्मित बनेको छ ।

कुनैपनि फुटबल खेलाडीका लागी खेलजीवनको सबैभन्दा उत्कृष्ट र उर्वर उमेर भनेकै २५ वर्षदेखि ३० वर्षसम्मलाई मान्ने गरिन्छ ।

यस्तोमा मेसीले कम्तिमा दुई वर्षपछि रुसमा हुने विश्वकप फुटबलसम्म अर्जेन्टिनाको ‘कमान्ड’ समाल्ने धेरैको अनुमान थियो ।

सन् २००५ मा राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका मेसीले अर्जेन्टिनाका लागि ११२ खेल खेल्दै ५५ गोल गरेका छन् । उनी अर्जेन्टिनाको लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

स्पेनिस क्लब बार्सिलोनालाई कुल २६ उपाधि दिलाएका वर्तमान विश्व फुटबलका ‘महान्’ खेलाडी मेसीको अन्तर्राष्ट्रिय फुटबलबाट यति निरस बिदाइ सायदैले सोचेका थिए होलान् । –एजेन्सीको सहयोगमा

तस्वीरहरुः एजेन्सी ।