
काठमाडौं, असार १२ । युरोपेली युनियनबाट बेलायतको बर्हिगमनसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ राजनीतिक तरंग पैदा भएको छ ।
छुट्टै बस्ने बेलायतको निर्णयले अन्तर्राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन र आर्थिक गतिविधिमा कस्तो प्रभाव पार्ला भन्ने विषयले यतिबेला खुबै चर्चा पाएको छ । इयुबाट बेलायत बाहिरिएपछि नेपालमा पर्ने सम्भावित असरका बारेमा पनि बहस चलेको छ ।
गत बिहीबार भएको जनमत संग्रहमा बेलायती जनताले यूरोपेली युनियनबाट अलग हुने निर्णय गरेपछि त्यसले विश्व राजनीतिलाई पार्ने प्रभाव, यूरोपको एकता र स्वयम् बेलायतलाई पर्ने असरका बारेमा चलेका चर्चा निकै चुलिएको छ । पुरै विश्वको ध्यान तान्न सफल भएको यस घटनाको विभिन्न आयामबाट विश्लेषणहरु भइरहेका छन् ।
इयुमा आवद्ध बाँकी २७ मुलुकका अधिकांश जनता, सरकार र राष्ट्र प्रमुखका साथै सेलिब्रेटीहरुले बेलायती जनतालाई इयुबाट नअलग्गिन गरेको आग्रहलाई बहुमत बेलायतीहरुले अस्वीकार गरिदिएका छन् । इयुबाट अलग हुने निर्णयमा पुनर्बिचार गर्नुपर्ने शैलीमा बेलायतमा भइरहेको हस्ताक्षर संकलनले जनमतसंग्रहको भविष्यमा अर्को प्रश्न उठाइदिएको छ । यस्तो हस्ताक्षर २५ लाख पुगिसकेको छ । अब संसदमा पनि यस विषयले प्रवेश पाउने अवस्था बनेको छ । उता आयरल्याण्ड र स्कटल्याण्डमा बहुमत इयुबाट छुट्टिन नहुने पक्षमा देखिएपछि त्यहाँका राजनीतिकर्मी र नागरिकहरुले इयुबाट छुट्टिने निर्णयप्रति चर्को असहमती जनाउँदै आफूहरु फेरि बेलायतवाट छुट्टिने विषयलाई जनमतसंग्रहमा लैजाने चुनौती दिन थालेका छन् । यसले बेलायतको एकतामा ठूलो प्रश्न उब्जिन सक्ने जानकारहरु बताउँछन् ।
इयुबाट बेलायतको बहिर्गनमसँगै विश्व राजनीतिको शक्ति सन्तुलनमा पनि फेरबदल आउने संभावना छ । आर्थिक रुपले सवल र अमेरिकाको निकै नजिकको सहयात्रीको बर्हिगमनसँगै इयु तुलनात्मक रुपमा कमजोर हुने र त्यसको लाभ राजनीतिक रुपमा रुस र आर्थिक रुपमा चीनले लिनसक्ने सम्भावना बढेको छ ।
इयुबाट वेलायत अलग हुँदा नेपाललाई पर्ने प्रभावका बारेमा नेपालभित्रै पनि बहस जारी छ । एकथरीको मान्यतामा बेलायत इयुबाट अलग भए उसको अर्थतन्त्रमा नकारात्मक असर पार्नेछ र नेपालले पाउँदै आएको सहयोगमा कटौती हुन सक्छ । तर, विश्लेषकहरु आर्थिक कुटनीतिलाई दह्रो रुपमा अघि बढाइए नेपाललाई फाइदा हुने सम्भावना पनि उत्तिकै रहने औंल्याउँछन् ।
चुस्त प्रशासन, विधिको शासन, अलग मुद्रा र बलियो आर्थिक परिसुचकहरु रहेको अवस्थामा इयुबाट बाहिरिदैंमा बेलायतले केहि पनि गुमाउँदैन भन्ने आवाज पनि उत्तिकै प्रखर छ । इयुबाट बाहिरिने प्रकृया पुरा गर्न पनि झण्डै २ बर्ष लाग्ने र बाँकी यूरोपेली मुलुकसँगको सम्बन्धलाई बेलायतले कसरी परिभाषित गर्छ भन्ने स्पस्ट खाका नआइसकेको अवस्थामा यूरोप, बेलायत र बाँकी विश्वको भविष्यको बारेमा अहिले नै आँकलन गर्नु केहि हतार पनि हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्