
काठमाडौं, असार १२ । श्रीमतीलाई आगो लगाई हत्या गरेर फरार रहेका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार विसं २०५६ पुस १६ गते राति कोटेश्वरस्थित आफ्नै घरमा नवराज नगरकोटी भन्ने नवराज श्रेष्ठले मादकपदार्थ सेवन गरी आफ्नै श्रीमती रिना श्रेष्ठको शरीरमा मट्टीतेल खन्याई आगो लगाएका थिए । जलेर घाइते भई उपचारका लागि शिक्षण अस्पतालमा लगिएकामा पुस १८ गते रिनाको मृत्यु भएको थियो ।
कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भएका श्रेष्ठलाई ललितपुर इमाडोलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको ब्युरोले जनाएको छ ।
मृतककी आमा शान्ति श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी श्रेष्ठ भएको कर्तव्य ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतले श्रेष्ठलाई सफाइ हुने गरी गरेको विसं २०५८ असार ७ गतेको फैसलालाई पुनरावेदन अदालत पाटनले उल्ट्याउँदै २०६२ कात्तिक ६ गते सर्वस्वसहित जन्म कैदको सजाय हुने गरी फैसला सुनाएको थियो ।
फैसलापश्चात फरार रहेका श्रेष्ठ २०६३ सालमा वैदेशिक रोजगारको लागि मलेसिया गई २०६६ सालमा नेपाल फर्केको र पुनः अर्को विवाह गरी बालकुमारीमा लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्