१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


बेलायतमा फेरि जनमत संग्रहको माग, २५ लाख बेलायतीले गरे हस्ताक्षर


0
Shares

काठमाडौं, असार १२ । दुई दिनअघि जनमत संग्रहमार्फत् युरोपियन युनियनबाट बाहिरिने निर्णय गरेको बेलायतमा लाखौं बेलायतीले यसबारे फेरि जनमत संग्रह गरिनुपर्ने मध्ये लबिङ थालेका छन् ।

बेलायत युरोपियन युनियनको सदस्य कायमै रहने नरहने विषयमा फेरि जनमतसंग्रह हुनुपर्ने माग गर्दै २५ लाख मानिसले हस्ताक्षर गरेका हुन् ।

फेरि जनमतसंग्रह हुनुपर्ने माग गर्ने अगुवाले कुल मतदातको ७५ प्रतिशतभन्दा कमले मात्र मतदान गरेको र त्यसको ५२ प्रतिशतले इयुबाट बाहिरिने पक्षमा मत दिएपनि यो वास्तविक बहुमत नभएको जिकीर गरेका हुन् ।

बेलायतमा यस्तो निवेदनमा केवल एक लाख मात्र समर्थन जुटेपनि संसदले मान्यता दिनुपर्ने र छलफल गर्नुपर्ने प्रावधान छ । गएको बिहीबार भएको जनमत संग्रहमा कुल मतदाताको ७२ दशमलव २ प्रतिशतले मतदानमा भाग लिएका थिए ।

लण्डन, स्कटल्याण्ड र नर्दन आयरल्याण्डवासीले इयुको सदस्य कायमै रहनु पर्ने पक्षमा मत दिएका थिए । प्रधानमन्त्री डेविड क्यामरुनले भने यसअघि नै दोस्रो पटक जनमतसंग्रह नहुने बताइसक्नु भएकाले लाखौं नागरिकको हस्ताक्षरबारे के निर्णय हुनेछ भन्ने निश्चित छैन ।

जनमत संग्रहमा पराजीत भइसकेपछि प्रधानमन्त्री क्यामरुनले आउँदो अक्टोबरमा प्रधानमन्त्री पद छोड्ने घोषणासमेत गरिसकेका छन् । यता, जर्मन चान्सलर एन्जेला मर्केलले भने ईयुबाट बाहिरिने बेलायती निर्णयकासम्बन्धमा वार्ता र संवादमा कुनै हतार गर्नुपर्ने अवस्था नरहेको बताएकी छिन् ।

जनमत संग्रहमार्फत् बेलायतले ईयुबाट बाहिरिने निर्णय लिएपछि ईयुका अरु देश र संस्थाका पदाधिकारीहरुले बेलायतलाई ढिलो नगरी तत्काल बाहिरिन भनेका सन्दर्भका मर्केलले यस्तो धारणा राखेकी हुन् । ईयुका विदेशमन्त्रीहरुको बैठकमा उनले बेलायतसँग सौहार्दपूर्ण वातावरणमा वार्ता हुने पनि प्रष्ट पारिन् । (एजेन्सी)