१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


रुस र केन्याका खेलाडीले रियो ओलम्पिकमा विशेष डोपिङ परीक्षण गर्नुपर्ने


0
Shares

काठमाडौं, असार १० । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईसोसी)ले डोपिङ परीक्षणमा असफल राष्ट्र रुस र केन्याका खेलाडीलाई निश्चित मापदण्डका आधारमा ओलम्पिकमा सहभागि गराउने भएको छ ।

रुस र केन्याले डोपिङको नियम उल्लंघन गरेको भन्दै अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघ (आईएएएफ)ले यी दुई टोलीलाई निलम्बन गरेको थियो । देश निलम्बनमा परेपछि त्यहाँका खेलाडीले आसन्न ओलम्पिक खेल्न नपाउने चर्चा चलिरहँदा आईओसीले खेलाडीका लागि विशेष मापदण्ड तय गरिदिएको हो ।

यो मापदण्डअनुसार ब्राजिलमा हुने रियो ओलम्पिकमा सहभागी हुने खेलाडीले विशेष डोपिङ परीक्षण गर्नुपर्ने हुन्छ । यसका लागि ती खेलाडीसँग अब ११ दिनको समयमात्र बाँकी छ ।

यो समयमा आफूलाई डोपिङमा सफल प्रमाणित गर्न सके ती दुबै मुलुकका खेलाडीहरुले रियो ओलम्पिक खेल्न पाउनेछन् । यसका लागि खेलाडीले आगामी जुलाई ४ तारिखभित्र आईएएएफका महासचिव समक्ष आफु निर्दोष भएको प्रमाणसहित आवेदन दिनुपर्नेछ । ती प्रमाण दोषी राष्ट्रहरु रुस वा केन्याको निकायबाट नभएर स्वतन्त्र निकायबाट पुष्टि गराएको हुनुपर्ने आईएएएफको शर्त रहेको छ ।

रुस र केन्याका के–कति खेलाडीले रियो ओलम्पिकमा एथ्लेटिक्सतर्फ प्रतिस्पर्धा गर्न पाउने भए भन्नेबारे जुलाई १८ तारिखसम्म थाहा हुने छ ।