१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


उपाधि दाबेदार जर्मनी नकआउट चरणमा प्रवेश, क्रोएसियासँग स्पेन पराजित


0
Shares

पेरिस, असार ८ । उपाधि दावेदार जर्मनी युरोकप फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा नर्दन आयरल्याण्डलाई १–० ले हराउँदै जर्मनी समुह विजेता बन्दै प्रि क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

खेलमा जर्मनीलाई विजयी गराउन मारियो गोमेजले निर्णायक गोल गरे ।

यही समुहको अर्को खेलमा युक्रेनलाई १–० ले हराउँदै पोल्याण्ड पनि प्रतियोगिताको ‘अन्तिम १६’ मा प्रवेश गरेको छ । खेलमा पोल्याण्डलाई विजयी गराउन ज्याकुब ब्लाजिकोस्कीले निर्णायक गोल गरे । यो समुहमा तेस्रो स्थान ओगटेको नर्दन आयरल्याण्ड पनि नक आउट चरणमा उक्लिएको छ ।

युरोकप फुटबल अन्तर्गत समुह डिका खेलहरुमा क्रोएशिया र टर्की विजयी भएका छन् । क्रोएशियाले साविक विजेता स्पेनलाई २–१ ले हराएको हो । खेलका स्पेनका अल्भारो मोराटाले पहिलो गोल गरेपनि क्रोएशियाका निकोला कालिनिच र ईभाँ पेरिसीचले एक–एक गोल गर्दै टोलीलाई जिताएका हुन् । यो जितपछि क्रोएशिया समुह विजेता बन्दै नक आउट चरणमा प्रवेश गर्‍यो भने स्पेन उपविजेतामा सिमित भयो । स्पेनले सन् २००४ यता युरो कपको कुनैपनि खेल हारेको यो पहिलो पटक हो ।

यही समुहको अर्को खेलमा टर्कीले चेक गणतन्त्रलाई २–० ले हरायो । खेलमा टर्कीलाई विजयी गराउन बुराक ईल्माज र ओजान तुफानले एक–एक गोल गरे ।

जितसँगै टर्कीले नक आउट चरणमा प्रवेश गर्ने सम्भावना जीवित राखेको छ ।

गएरातिका खेलहरुपछि युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गर्ने १२ टोलीको टुंगो लागिसकेको छ । यी १२ टोलीमा फ्रान्स, स्विट्जरल्याण्ड, वेल्स, इंग्ल्याण्ड, स्लोभाकिया, जर्मनी, पोल्याण्ड, स्पेन, क्रोएशिया, ईटाली, हंगेरी र नर्दन आयरलायण्ड छन् । प्रि क्वाटरफाईनलमा ईटालीले स्पेनसँग खेल्नेछ भने स्विट्जरल्याण्ड र पोल्याण्ड भिड्नेछन् । अरु टोलीको प्रतिपष्र्धी टुंगो लाग्न बाँकी छ ।