
काठमाडौं, असार ७ । एक युवतीको हत्या र बलात्कारको अभियोगमा पक्राउ परेका मानबहादुर बुढाथोकीले एक वर्षबीचमा धनुषा र महोत्तरीमा आफूले घटाएको घटनाको फेहरिस्त खोल्दा केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीहरु अक्कबक्क भए ।
२०५३ मा महोत्तरीमा भएको एक हत्या घटनामा उनको संलग्नता खुलेपछि ब्युरोको प्रहरी भारतको दिल्ली पुगेर पक्राउ गरी सोमबार नेपाल ल्याएको थियो । यसबीचमा उनले एक घटनामात्र स्वीकार गरेनन्, प्रहरीले चाल नै नपाएको अन्य ३१ घटनामा समेत आफू संलग्न रहेको दाबी गरे ।
ब्युरोका डिआइजी नवराज सिलवालका अनुसार उनले दाबी गरेका हत्या घटनामध्ये प्रहरीले ६ वटाको रेकर्ड फेला पारिसकेको छ । अन्य २६ वटा घटनाका पीडित को हुन् प्रहरीलाई समेत पत्तो छैन ।
ब्युरोका अनुसार बुढाथोकीले स्वीकार गरेका हत्याका प्रकृति एकै छन् । धनुषा र महोत्तरीका विभिन्न स्थानमा २०५२ र २०५३ का बीचमा भएका घटना अधिकांश सुनसान स्थानमा घटेका छन् ।
यी सबै घटनामा मारिएकाको घाँटी थिचिएको छ भने अधिकांशको बलात्कार समेत भएको छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्