८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


काबुल आक्रमणमा १४ नेपालीको मृत्युः प्रधानमन्त्री ओलीद्धारा घटनाको निन्दा, मोदीको श्रद्धाञ्जलि


0
Shares

काठमाडौं, असार ६ । अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी संगठन तालिबानले गराएको आत्मघाती बम विस्फोटमा १४ जना मारिएका छन् ।

सोमबार बिहान मिनिबसमाथि बम विस्फोट गराउँदा मारिने सबै १४ जना नेपाली रहेको अफगानिस्तान गृह मन्त्रालयले जनाएको छ ।

ती सबै साब्रे सेक्युरिटी कम्पनीमा काम गर्ने गर्दथे । ९ जना घाइतेमा पाँचजना नेपाली र चारजना अफगानिस्तानी रहेको त्यहाँका गृहमन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उनीहरु सबै क्यानेडियन दूतावासमा सुरक्षार्थ खटाइएका थिए ।

जलालावादस्थित क्याम्पमा जाँदै गर्दा गराइएको घटनाको जिम्मेवारी तालिबानले लिएको हो ।

सुरक्षा गार्ड चढेको दुईमध्ये एक गाडी निस्केपछि अर्कोमा आक्रमण गरेको बताइएको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको काबुलमा भएको बम विस्फोटमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

घटनाले आफू स्तब्ध भएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत् जनाएका छन् ।

ओलीले आक्रमणमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ‘आततायी काबुल घटनाको नेपाल सरकार घोर निन्दा गर्दछ’–भनेका छन् ।

यस्तै, काबुलमा गराइएको उक्त आत्मघाती आक्रमणमा नेपाली मारिएकोप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चासो व्यक्त गर्दै नेपाललाई आवश्यक सहयोग गर्ने बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत् उक्त आत्मघाती आक्रमणको भत्सर्ना गर्दै घटनामा मारिनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

यस्तै, उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले पनि उक्त आतंकवादी आक्रमणको कडा निन्दा गरेका छन् ।