
पेशल आचार्य – नयाँ शक्तिको पसल अन्ततोगत्वा नेपाली राजनीतिक मण्डीमा डा.बाबुराम भट्टराईले खोली छाडे । उनी तर्कशील गनगने हुन् । साँच्चै भन्ने हो भने नेपाल टेलिभिजनबाट आउने मेरी बास्सै’ र ‘तीतो सत्य’ जस्ता चर्चित कार्यक्रमका युनिक पात्र गन्गने बाबुराम र अहिलेका नयाँ शक्तिका डा. बाबुराममा रक्तिभर फरक छैन । चरित्र निर्माणमा ती कार्यक्रमका निर्देशकले गरेको मिहिनेतलाई तारिफ गर्नै पर्छ ।
आफैँले बनाएको संविधान र संविधान सभालाई आफ्ना मालिकहरू (?) को इसारामा शालीन पारामा दुत्कार्ने विद्वान् डाक्टर सा’ब अबका आउँदा पच्चीस वर्षमा नेपाललाई गरिबी मुक्त र समृद्ध नेपाल बनाउने डिङ् हाँक्दै छन् । उनले लिएका वा उनकहाँ आएका मानिसहरूको झुण्डमा थोपडा हेर्दा त्यो र त्यसको दसांश पनि पूरा होला जस्तो लाग्दैन ।
एकजना विद्वान्को भनाइ सापट लिएर भन्ने हो भने –‘बाबुरामको अनुहार हेर्दा दया लाग्छ । त्यत्रो पढेलेखेको मान्छे तर उनको बेहोरा र उनकी स्वास्नीको बेहोरा हेर्ने हो भने कताकता रिस पनि उठ्छ । उहिले जनवादी शिक्षाको वकालत गरे तर छोरी मानुषीलाई जेएनयु पढाए । मितव्ययीताको नारा दिए पहिलो संविधान सभालाई अनिर्णयको बन्दी बनाउँदै तुहाए । आफूले बनाएको संविधानको आफैँ विरोध गरेर भारतीय पृष्ठपोषण पाएको भनिएको मधेश आन्दोलनलाई भैयारी शैलीमा धाप मार्न गए । जहाँजहाँ गए विवादास्पद बोलीले जनमानषमा उत्तेजनाका वीउ छरे । अहिले पनि उनको मधेश आन्दोलन बारे र भारतीय चलखेल बारे सपाट अर्जुन दृष्टि पाइँदैन ।’
ती विद्वान्ले यसै सन्दर्भमा मिल्ने कुरा पनि भनेका छन् –‘सौ चुहे खाकर बिल्ली हज कर्नेको निक्ली है !’ कथित ‘जनयुद्ध’ मा गरेका पाप मोचनका लागि उनले त्यस्तो नयाँ शक्तिको धमाकेदार मसला नेपाली राजनीतिलाई दिएकि जसको न कुनै वैचारिक जग छ । न कुनै त्यागी र तपस्वी मानिसहरू भेलाजम्मा पार्न सकियो । नेपालमा अहिलेसम्मको राजनीतिक पार्टीको इतिहासलाई हेर्ने हो भने यहाँ कि प्रजातन्त्रवादी धारका पार्टीहरू खोलिए कि वामपन्थी दर्शनमा उभिएर पार्टी सञ्चालन गराइयो । देश अघि बढाउन स्पाति व्यक्तित्व भएका नेता र राजनीतिक दर्शन भएकै पार्टी चाहिन्छ ।
अलिक फरक प्रसङ्गमा अर्को सन्दर्भको विश्लेषण गरौँ ।
नेपाली काँग्रेसका नेता तथा जननायक बीपी कोइराला आफ्ना समयका सर्वाधिक चर्चित क्यारिस्मेटिक राजनीतिक पर्सन्यालिटी हुन् । उनका कुनै पनि छोराहरू उनलाई पछ्याउने गरी दर्शनको दाउन समात्न पुगेनन् । कुनै सुदूर गाउँमा भएको आम सभामा बीपी पुत्र तथा नेपाली काँग्रेसका वर्तमान महामन्त्री डा. सशाङ्कलाई यो पङ्क्तिकारले प्रश्न राखेको थियो –बीपीको भिजन अबको सहरी समाज र नगरोन्मुख गाउँमा परिमार्जन गरेर लैजाने बेला भएन र ? अहिलेको सामयिक समाजमा उहिलेको एक हल गोरु, एउटा घर, स्वास्थ्य संस्था, गाउँमै सन्ततीका लागि मिडिल स्कुलका सट्टामा अब आरसिसि युक्त चारकोठाको एउटा घर, घरअघि पिच बाटो, गाउँमा प्राविधिक शिक्षालय, विद्युत्, वाइफाइ र आधुनिक सुविधाका कल्पना गर्न सकिन्नँ र ।’ डा’साब मुस्कुराउनु मात्र भयो । प्राश्निकका नाताले लेखकले तुष्टि लिन सकेन । सबै प्रश्न वाणीमा अर्थिनन् केही मौनतामै पनि व्यक्तिन्छन् भन्ने कतै पढिएको कुरालाई सम्झेर चुप भयो –त्यो बेला ।
मौनता र मुस्कुराहटको अर्थ के लाग्यो भने –नेपाली काँग्रेसले बीपीलाई पुँजी त बनायो र बीपीको बाटोका बटुवा हुन छाडे काँग्रेसीहरू । काँग्रेसमा मात्र होइन एमाले र एमाओवादीमा पनि राजनीतिक दर्शनको अनिकाल परेको छ । महान् नेताका घरमा पुत्रपुत्रीहरू त्यो राजनीतिक र दार्शनिक विराशत लिएर जन्मेनन् । मनमोहन अधिकारीको पनि त्यस्तै देखियो । मदन भण्डारीको पनि त्यही पाइयो । त्यही गोल चक्कर मै छन् –माधव, झलनाथ र केपी ओलीहरू ।
सन्दर्भ अहिलेकै राजनीतिक नेता र पार्टीकै उठाउँ । अहिले सक्रिय र सत्ताको राजनीति गरिरहेका र ओली सरकार मै बसेका उप प्रधानमन्त्री कमल थापाको दर्शनले, चित्रबहादुर केसीको मूल्य मान्यता र आदर्शले, सीपी मैनालीको राजनीतिक मान्यताले यो मुलुकलाई अन्ध राष्ट्रवादको खादा त पहि¥याउला तर नेपाल दस, बीस र तीस वर्षमा कहीँ पनि पुग्दैन । पुग्न सक्दैन ।
यही भ्याकुममा डा. बाबुराम नेपाली राजनीतिमा नयाँ शक्तिको झण्डा बोकेर आएका छन् । राजनीति गर्न अलिकति जेलनेलको पूँजी, अलिकति दर्शन, अलिकति क्यारिस्मेटिक व्यक्तित्व र अलिकति भविष्यगामी सपनाका सोपनाहरू पनि चाहिने रै’छन् । त्यो हेर्दा बाबुराम स्थापना मै चुकेका छन् । चिकेन बिरयानी खुवाएर अनि करिश्मा मानन्धर जस्ता सिने सेलिब्रेटीलाई ड्यासमा स्थान दिएकै भरमा नेपालको समूल गरिबी सफाचट हुने भए अहिलेसम्मको नेपालको संविधान र विकासको यात्रामा नेपालीहरू एसियाली मुलुकमा नाम चलेको देशका वासिन्दा भैसक्ने थिए ।
लेफ्ट डेमोक्र्याटिक पार्टी भनेकै भरमा अबको नेपालमा पार्टी चल्दैन । यिनीहरूले अहिलेको दीर्घ संक्रमणलाई चिर्न आम नेपाली र सबै खाले युवा तथा बेरोजगारहरूको मनमा हिन्ट गर्न सक्ने विचार र कार्यक्रम बोकेर कुनै त्यस्तो मसिहा नेपाली राजनीतिमा आउनु पर्छ जसले एक्काइसौं शताब्दीको नेपाल र नेपालीका सपनालाई सम्बोधन गर्न सकोस् । मिहीन रुपले हेर्दा बाबुरामको नयाँ शक्तिमा कम्तिमा त्यो देखिन्नँ । डा. भट्राई कन्ट्रोभस्र्यालिटीको अर्को दह्रो नाम हो । अर्थमन्त्री हुँदा आर्थिक सुधारका नारा कोरल्ने उनैले पिएम् हुँदा राष्ट्रघाती बिप्पा सम्झौता गरेर भारतको भक्ति गरेकै हुन् । मुस्ताङ म्याक्स गाडी चढे पनि नातागोता र आसेपासेलाई वरिपरिका राजनीतिक नियुक्ति दिलाएकै हुन् । अझ उनको सत्ता राइँदाइँमा उनकी म्याडम हिसिलाको चुरीफुरी हेर्न लायक थियो । पश्चिमा पत्रिकाहरूले उनलाई ‘दक्षिण एसियाकी मस्ट करप्टेड महिला’ भनेर चित्रण नै गरे ।
नेपालको यो यस्तो संक्रमण हो जसको आदिअन्त्यमा राजनीतिक पार्टीकै हात रहेको छ । भन्नलाई लेफ्ट डेमोक्र्याटिक पार्टी भनिए पनि त्यसमा जाने मानिसहरू प्रायः कर्मचारी, पुराना पत्रकार, काँग्रेस र एमालेमा कुनै मान भाउ नपाएका र अवैचारिक पृष्ठभूमिका चिकित्सक, व्यापारी र सबै कुनै न कुनै पेसा व्यवसायसँग सम्बन्धित एवम् राजनीतिक रूपमा दर्शनको दाउन सकिएका मानिसहरू नै परेका छन् जसले गर्दा नयाँलाई विश्वास गर्ने पर्याप्य आधारहरू पनि छैनन् ।
डा. बाबुरामलाई जनताले जुन शंका गरेका थिए आखिरमा त्यो सत्यतामा परिणत भई छाड्यो । उनले ‘जनयुद्ध’ को नेतृत्व गरेर एकातिरबाट सत्र हज्जार निमुखा र निम्छराहरूको हत्या गरे । बापबैरी साँध्ने शैलीमा ती जनताको कत्लेआम गरे । अनि तिनीहरूलाई बिचमै छाडेर अहिले उनी आफ्नो पाप मोचनका लागि ‘दुलो परेको पानी जहाज’ बाट हाम्फालेर बाहिर गए । भविष्यमा हुन सक्ने राजनीतिक सजायबाट बँच्न पनि उनले यो राजनीतिक पसल खोलेका छन् –जानकारहरू यसो पनि भन्छन् । आगे केही वर्षमा त्यो सत्य असत्य के हो ? देखिएला ।
आस्था र विचार महँगो भएका र मानिसका सपनाहरू सस्तिएका बेलामा यस्तो पसलमा नयाँपुराना, बासी र सडेगलेका सबै खाले मानिसहरूको जमात (एक प्रकारले भन्ने हो भने कुनियतले जम्मा भएका मानिसहरूलाई जमात भन्न मिल्छ) राखेर उनी कुन मोक्षको वाराणशी जाँदैछन् । त्यो न उनलाई थाहा छ न उनका पछौटेलाई थाहा छ । बिरयानीका स्वाद्मा वीरहरू पैदा हुँदैनन् । अवैचारिक जमात लिएर भीड बटुल्न त सकिएला तर मुलुकको विविध सुरसामय समस्यालाई पार लगाउन सकिन्नँ । नीति, दर्शन, संगठनको दरिलो आधार, कार्यक्रम, कार्यकर्ता र अन्तर्राष्ट्रिय पहिचान, दूर दराजसम्मको भिजन, मिसन र गोल विना खोलीएका राजनीतिक पार्टीहरू भोजभतेरलाई पार्टी भनिएझैँ चमक दमकमा त रहन्छन् । तर केही समयपछि बलेँसीको पानी फोका बनेर जान्छन् । अहिलेलाई बाबुरामको पार्टी नयाँ शक्तिका बारेमा यत्ति नै भन्न सकिन्छ । बाँकी समयले मूल्याङ्कन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्