१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


ओलम्पिकमा निशालाई प्रत्येक बाउट जित्दा एकलाख रुपैयाँ पुरस्कार दिने घोषणा


0
Shares

काठमाडौं, असार ५ । रियो दि जेनेरियोमा हुने ३१ औं ग्रिष्मकालीन ओलम्पिकका लागि वाइल्डकार्डमार्फत छनोट भएकी निशा रावलका लागि तेक्वान्दो सम्बन्धित चलचित्र ‘रिलेशन’ले पुरस्कारको घोषणा गरेको छ ।

‘रिलेशन’ चलचित्रका नायक तथा निर्माता ग्रान्डमास्टर दिवाकर डान महर्जनले निशाले ओलम्पिकमा एक बाउट जितेको खण्डमा एक लाख रुपैयाँ प्रोत्साहनस्वरुप ‘रिलेशन’ चलचत्रिका तर्फबाट प्रदान गर्ने घोषणा गरेका हुन् ।

‘हाम्रो चलचित्र रिलेशनले तेक्वान्दोमार्फत समाजमा परिवर्तन गराएको सन्देश दिएको समयमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यले हामीले उनलाई प्रत्येक बाउट जित्दा एक लाख पुरस्कार दिने घोषणा गरेका हौं,’ महर्जनले भने । प्रत्येक बाउट जित्दा एक लाख रुपैयाँ थपिदै जानेसमेत महर्जनले बताए ।

तेक्वान्दो सम्बन्धी चलचित्र रिलेशन अमेरिकाको पोर्टल्यान्डको हलिउड थिएटरमा भव्यताका साथ देखाइएको छ ।

त्यसैगरि १० असारबाट नेपालका सम्पूर्ण हलहरुमा रिलेशन चलचित्र प्रदर्शन हुने तयारी रहेको अवस्थामा चलचित्रले निशालाई पुरस्कार दिने घोषणा गरेको हो ।

‘चलचित्रले कमाए पनि नकमाए पनि हामी खेलकुदकर्मी भएका नाताले खेलाडीको प्रोत्साहन गर्नु हाम्रो कर्तव्य हो भन्ने महसुस गरेर यो घोषणा गरिएको हो,’ महर्जनले भने । तेक्वान्दो सम्बन्धी चलचित्र हेरेर खेलाडीलाई प्रोत्साहन गर्न पनि उनले आग्रह गरेका छन् ।

महर्जनले स्थापना गरेको मैत्री तेक्वान्दो डोजाङकी उत्पादन हुन् निशा । यसअघि मैत्री तेक्वान्दो डोजाङ्गले निशालाई मैत्रीदेखि ओलम्पिकसम्म यात्रा गरेको भन्दै सम्मान गरेको थियो ।

रावलले २०१६ को ५ देखि २१ अगष्टसम्म हुने रियो ओलम्पिकमा ६७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । उनी यतिबेला ओलम्पिकको विशेष तयारीका लागि दक्षिण कोरियामा छिन् ।